लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

आऊ साथी बोतल खोलौं

11 months ago Post By : RKC



पुसको महिना अलार्मको टुनटुन, साढे ४ को उठाई ५ को ट्युसन, ७ बजेको चिया, ९ बजेको कोचिङ, १० बजेको कक्षा । यस्तै थियो साथी स्कुले जीवनको आवारापन । व्यस्त जीवनबीच फुर्सदको क्षण, मित्रहरु माझ नयाँ आर्कषण, रमाइलो थियो साथी त्यो सालको ठन्डी मौसम । प्रफुल्ल मनको प्रफुल्ल उमङ्ग, नयाँ प्रेमको नयाँ प्रसङ्ग, कसैको कसैसँग नाम जोडिँदा, नसोध साथी मुटु माझ कस्तो उठ्थ्यो तरङ्ग । जीवन जीउने एउटै रङ्ग, एउटै आवाज अनि एउटै मन, खुशी होस् या बेरङ, ‘आऊ साथी बोतल खोलौं’–भोलि रहनन् यी क्षण.........

समय बित्यो । वास्तवमै रहेन त्यो क्षण । यात्री कविताको अन्त्यसँगै शुरु भएको जीवन यात्रा पागलसम्म आईपुग्दा कति साथी छुट्टिए त कति उछिट्टिए । तर आजसम्म पनि मिजास सबैको बेसै छ, भाव त्यहीं कतै शेषै छ । केन्द्रमा बोतल । परिधिमा जमघट । रंगीन रात । बिहानी कहाँ ढल्थ्यो र साथी, त्यो ताकाको बात । मजा–बेमजा, फाइदा–नोक्सान, जीत–हार यी सबैको माथि मित्रत्व । मित्रत्व जमाउने एउटै तत्व । सोमरसको मंगल स्वस्ती ‘आऊ साथी बोतल खोलौं’–यसैमा छ मस्ती । खुल्दासम्म होश, एक गिलासमा जोश, दुईमा बिन्दास, तिनमा लामो सास, चारमा शुरु हुन्थ्यो सापकोटाको बात !
 
सापकोटा उवाचः– जीवन सत्य हो सत्य नै जीवन हो । भावाबेशमा उनी गीता ओक्लथे अनि ज्ञान मर्मज्ञ हुन्थे । ‘नासतो विद्यते भावो नाभावो विद्यते सतः’ (असत्य वस्तुको कुनै सत्ता छै्न सत्यको अभाव छैन) । यही हो सत्य– मैले बोल्नु तिमीले सुन्नु । ध्वनिमा बिस्तार छ, संसार छ, त्यसैले जानु ब्रह्मको पार छ । जसले अनाहतको ध्वनि सुन्यो उसले ॐ जान्यो, नमन (नमस्कार) जान्यो, नमनको शैली जान्यो, नमन गर्नेवाला जान्यो र नमन गरिनेवाला पनि जान्यो । अन्ततः उसले निरअहंकारमा जीवनको आधार जान्यो । क्षणमा जीवन देख्यो र जीवनमा क्षण । आज बाँच, अहिलेमा बाँच र यहीँ बाच । यही हो र यही मात्र हो जीवन जीउने एक कला । बोतल खोल, बोलत पिऊ । किनकी जीवनको यथार्थ नशा हो । ज्ञानको नशा, प्रेमको नशा र अन्तिम उत्सवको नशा । तर याद रहोस् नशामा होश बनिरहोस् ।

सापकोटाको गफ अनौठो हुन्थ्यो–त्रिआयामी । तर शर्माको गफ सरल हुन्थ्यो अद्यपी अनौठो पनि । देवकोटाको ‘शुन्यमा शुन्य सरीलाई’ उसले गाँठो बनाएकी थिई । ‘आखिर श्री कृष्ण रहेछ एक, न भक्ति भो ज्ञान, न भो बिवेक’लाई उसले कुन्जी मानेकी थिई । कथन उनको सरल थियोः–जीवनको उपलब्धि राममा हैन विश्राम (स्थितरता) मा छ । अर्की सुबेदी अझ प्रखर थिइन् । थरै सुबेदी, बेदको सार बोकेरै हिँड्थिन् । ‘तत्वमशी स्वेतकेतु’– तिमी त्यही, म त्यही, परमात्मा त्यही । कोही यहाँ अर्को छैन, पराइ छैन । सब ममा व्याप्त छ म सबमा व्याप्त छु । सब छ, सब छैन, तर अन्तिममा मात्र त्यही छ जो छँदैछैन ....। के भन्थीभन्थी तर सुन्दा मीठो लाग्थ्यो । कर्णप्रिय । साँच्चिकै जस्तो, हो नै जस्तो ।

यी सबैका मास्टर काफ्ले थिए । कुनै समय वार्तालापबाटै मानसिक तलमा पुत्र लाभ गर्न सक्ने क्षमता राख्ने उनी आज–भोली उत्ती धेरै बोल्दैनन् । शायद जीवनको अनुभवले पकाउँदैछ उनलाई । वार्तालापको पुत्र लाभमा भन्दा यथार्थको पुत्र लाभमा अलिकती बढी मिहिनेत गर्नु पर्छ भन्ने बुझे जस्तो छ उनले । यही कारणले उनलाई गुप्त विद्वान भन्दा कुनै आपत्ती हुँदैन । बोल्दा छड्के परेर बोल्ने उनको बानीमा अक्कडोपन थियो । लागेको बानी कहाँ छुट्छ र ! सिधा मुखा–मुख भएर कहिल्यै नबोलेका उनी अझै पनि छड्के परेरै बोल्छन् । चार्वाकको सिद्धान्तमा ठाडै उजुर गर्छन् । यो सिद्धान्तसँग उनको के रिसिइबी छ ? आजसम्म कसैलाई थाहा भएन । कसैसँग पोखेनन् पनि । ‘यावत जीवेत सुखं जीवेत, ऋण कृत्वां घृत पिवेत’ (जीवन जस्तो छ सुखी छ, ऋण लिएर भए पनि घिऊ खाऊ) – उनी भन्छन् यो बर्वादीको पहिलो खुड्किलो हो । के कारणले हो आजसम्म बताएनन् । मुखमा पान च्यापेपछि मिर्जा गालीब (भारतीय उर्दु कवि) को उर्दु शायरीप्रति उनी विशेष प्रिति देखाउँथे । अरु सबैको तर्कपछि अन्तिममा बोल्ने उनको बानी प्राय एउटै कुरामा टुङ्गिन्छ – ‘हमे मालुम है जन्नतकी हकिकत लेकिन, दिलको खुश रख्नेके लिये ‘गालिब’ खयाल अच्छा है’ – (मलाई थाहा छ स्वर्गको वास्तविकता  तर हृदयलाई खुशी राख्न ‘गालिब’ सपना मिठो छ) ।

पाँच औंला एक मुठ्ठी, एउटाको चोट अर्कोको पीडा । तर साथी अब जीवनले कोल्टे फेर्‍यो । केही दुरी तय भो । मित्रत्वको अभावमा मित्रता औपचारिकता बन्यो । शर्माको बिदाईसँगै सापकोटाको सी–अफमा होलीको रंग फिका भो । मित्रताको मजा लत्पत्तिए लगत्तै बोतल नखोलेको पनि बर्षौं भयो । तर साथी ठूलो आवाजमा जीवन छछल्किए पनि याद अझै धमिल्लिएको छैन । स्मृति अझै ताजै छ । तिम्रो, उसको, त्यसको, सबैको । अनाहकमा याद यातना नबनोस् । सुनेको छु, आज भोली प्रायः सबै अली हैदर (पाकिस्तानी गायक) को पुरानी जिन्स सुन्छन् अरे । तर साथी, जीवन यत्तिमै कहाँ टुङ्गिदो रै’छ र ! यस्तो लाग्छ उदाउँदो भोलि तिमी फर्किन्छौ, ऊ आउँछ । र, केही नभनिएको तर भनिनयोग्य, केही नसुनिएको तर सुनिनयोग्य कुरा त्यहींबाट शुरु हुन्छ जहाँ थाँती राखेका थियौं । जीवन सकारात्मक छ साथी । तर लाग्छ समय कम छ । त्यसैले साथी, बसौं, बिसाऊँ, भाँती पुर्‍याउँ, ‘आऊ साथी बोतल खोलौं’– भोलि फेरि तिमी कहाँ, ऊ कहाँ, को कहाँ .........

Loading...

Related Post


Your Comment


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework