लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
Everest
sagoon new

हेर्दाहेर्दै चकित पर्ने डान्स ... बि–बोईङ

6 months ago Post By : RKC

‘बा.... बा... कलाकारिता पनि आजभोलि त कस्तो कस्तो ? कहिले टाउकोले टेकेको छ, कहिले हत्केलाको भरमा उफ्रेको छ, कहिले कम्मर नै भाँचिएला जस्तो .... हेर्दै डर लाग्ने .. यति धेरै त नगरे हुन्थ्यो नि जस्तो लाग्ने ।’

चर्चित कलाकार मदनकृष्ण श्रेष्ठले भदौ २५ गते आयोजित पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रममा विजेतालाई पुरस्कार प्रदान गर्नु अगाडि बोलेका वाक्यहरु हुन् यी । केहिवेर अगाडि त्यही कार्यक्रममा हेरेको बि-बोईङ डान्स सम्झिदै थिए अभिनेता श्रेष्ठ ।

हुन पनि हो, हेर्दा रमाईलो तर विश्वासै गर्न नसकिने, अझ भनौं अपत्यारिलो वास्तविकताको एउटा उदाहरण .... बी – बोईङ । जसलाई ब्रेकिङ, अर्थात ब्रेक डान्सिङ पनि भन्ने गरिन्छ । शुरुका दिनमा हिप हप डान्सको नामले चिनिने नृत्यको यो आधुनिक रुप विश्वभर नै आजभोलि निकै लोकप्रिय छ ।

सन् १९६९ मा जेम्स ब्राउनले आफ्नो गीत गेट अन द गुड फुटमा तत्कालीन शैलीभन्दा निकै फरक नृत्य प्रस्तुत गरे, जुन नृत्य पछि गएर गुड फुटको नामले परिचित भयो । सायद ब्राउनलाई समेत थाहा थिएन होला, उनको शैलीले आधुनिक विश्वमा यस्तो छाप छोड्ला भनेर । झण्डै ४ दशक पुरानो ब्राउनको त्यो शैलीलाई तत्कालीन संगित र नृत्यप्रेमीले खुबै रुचाए, अनि त ब्राउनको त्यही गुड फुट शैली हिप हप, बी बोईङ, ब्रेक डान्सिङ अथवा ब्रेकिङको शुरुवात बन्यो ।

गुड फुटको सफलतापछि त्यतिबेलाका चर्चित डान्स जकी डिजे कुल हर्कले यसमा केही परिमार्जन गरी बी बोईङको नामकरण गरे । न्युयोर्कको ब्रङ्क्सबाट शुरु भएको त्यतिबेलाको बि बोईङमा टाउकोको भने खासै प्रयोग हुँदैनथ्यो । तर आजको मितिसम्म आइपुग्दा टाउकोले टेकेर गरिने नृत्य अर्थात हेडस्पिन र एउटा हत्केलाको भरमा गरिने नृत्य बि बोईङको मुख्य आकर्षण बनिसकेका छन् ।

खुट्टाको शक्तिशाली तर कलात्मक प्रस्तुतीसँगै, कम्मर, पाखुरा र टाउकोको समेत अपत्यारिला मुभमेन्टले वि– बोईङलाई अभूतपुर्व बनाउदै लगेको छ । मानिस होइन कुनै यन्त्रको प्रस्तुती जस्तो लाग्ने यो नृत्य आजको विश्वमा फरक पहिचान बनिसकेको छ, र त नेपालमा पनि बी बोईङ हरेक उमेर समुहमा लोकप्रिय बन्दैछ ।

नेपालमा ९० को दशकमा हिप हप भित्रिएपछि बी बोईङ सुरु भएको मानिन्छ । हिप हप नृत्यको झण्डै दुई दशकको अनुभवपछि नेपाली युवाहरुले बि बोईङको वास्तविकता बुझे र सोही अनुरुप नृत्य गर्न थाले । नेपालमा बि बोईङको संगठित अभ्यास भने तीन वर्ष अगाडि मात्रै शुरु भएको देखिन्छ । १८ वर्षदेखि नेपालमा बस्दै आएका थाई नागरिक मिकीले ठमेलको जिएए हलमा बी बोईङ ट्रेनिङ सुरु गरेपछि यसको आकर्षण ह्वात्तै बढ्यो । कठीन शारीरिक अभ्यास र यसमा समेटिएका विभिन्न स्टेपहरुले बि बोईङलाई स्पोर्ट्स डान्सको रुपमा पनि विकसित गरेको मीकीको बुझाई छ ।

‘बि बोईङ फिजिकल मुभमेन्ट मात्रै होइन, यो एउटा आर्ट पनि हो । झट्ट हेर्दा फिजीकल देखिएपनि यसमा दिमागको पनि अत्यन्तै कडा कसरत हुन्छ ’ मिकीले थपे – ‘कम्फु, उसु र मिक्स्ड मार्शल आर्टका कला पनि प्रयोग हुन्छ, त्यसैले म बि बोईङलाई स्पोर्ट्स डान्स भन्न पनि रुचाँउछु ।’
 
ठमेलको जिएए हलमा रहेको प्रशिक्षण केन्द्रमा सयौं प्रशिक्षार्थी व्यस्त छन् । बि बोईङमार्फत लागु औषध र सूर्तीजन्य पदार्थको प्रयोग रोक्न सक्दो सन्देश दिन यिनीहरु प्रयासरत छन् ।

‘मलाई यो डान्स हेर्दा अत्यन्तै मन पर्‍यो । त्यसपछि मैले अन्य नियमित नृत्य छोडेर यसैलाई अँगाले ’ हेर्दा खेलाडी जस्तो देखिने एक टिनएजर युवकले थपे – ‘यो केवल डान्स मात्रै होइन, युवाहरुलाई लागु औषध दुर्व्यसन र सुर्तीजन्य पदार्थको लतबाट टाढा राख्ने लक्ष्य नेपालमा बि बोईङले लिएको छ ।’
 
विश्वमै फरक रुची, चासो र दृष्टीले हेरीने यो नृत्यलाई नेपाली समाजले शुरु शुरुमा सहजै पचाउन सकेन । झण्डै २० वटा भन्दा बढी कार्यक्रममा गरेको प्रदर्शन र यसमा लागेको किशोर किशोरीको अनुशासित व्यवहारले विस्तारै नृत्यको यो फरक विधालाई स-सम्मान स्थापित गर्दै लगेको छ ।

थुप्रै स्टेज शोहरुमार्फत आफ्नो फरक परिचय बनाइसकेकी एक बि गर्लले मुस्काँउदै भनिन् – ‘शुरुशुरुमा त समाजले यसलाई पचाँउदैनथ्यो, अहिले यसको लोकप्रियता बढेर होला, सबैले यसलाई रुचाउन थालेका छन् ’ उनको गुनासो छ – ‘लोकप्रियता बढ्दै गएपनि परिवारले भने अझै पनि करियर पनि सोच, करियर पनि सोच भनेर बारम्बार भनिरहन्छ, अरु त ठीकै हो ’।

बि बोईङ हेर्दा जती रमाइलो छ, त्यती नैं कठिन र जोखिमयुक्त पनि छ । बि बोईङ गर्दा आफ्नो शरीरको सुरक्षामा निकै ध्यान दिनुपर्दछ र पहिरन पनि सोही अनुरुपको हुनुपर्दछ । घुँडा, कुइना, पाखुरा र टाउकोमा विशेष ध्यान दिएपछि बि बोईङको लागि शारीरिक र मानसिक रुपले तयार भएको मानिन्छ ।  

समय गतिशील छ । हरपल यहाँ परिवर्तन भइरहेका छन् । ६० को दशकमा गुड फुटको नामले चिनिने फरक किसिमको यो नृत्यले विभिन्न चरण पार गर्दै आधुनिक ब्रेकिङ अर्थात बि बोईङको अवस्थासम्म आइपुग्दा विश्वभर यसको प्रभाव र माग बढ्दै गएको छ । आजभोली नेपाली बि बोईज र बी गल्र्सहरु समेत निकै व्यस्त छन् । आशा गरौं खेल कौशल, कला र साहस मिसिएको यो पृथक नृत्यले नेपाली समाजमा आफ्नै व्यवसायिकता खोज्न सकोस् । अनि वेरोजगारी, दुर्व्यसनी र कुलतको शिकार बनेका र बन्न सक्ने तमाम युवावर्गमा यसले सकारात्मक छाप छोड्न सकोस्, बी बोइङलाई शुभकामना ।

Loading...

Related Post


Your Comment

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.