गण्डकी प्रदेशमा २० लाख पर्यटक भित्राउने अभियान सुरु

news

प्रदिप पौडेल/ईमेज

पोखरा । गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले सन् २०२२ सम्म प्रदेशमा २० लाख पर्यटक भित्राउने अभियान सुरु गरेको बताएका छन् ।

आन्तरिक भ्रमण वर्ष सफल पार्न गण्डकी प्रदेशका सरोकारवालासँग सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले त्यसका लागि चालु आवको फागुनदेखि पोखरा–सिमरा, चैतमा नेपालगञ्ज–पोखरा सीधा हवाइ उडान संचालन गरिने जानकारी दिए ।

प्रदेशमा आन्तरिक पर्यटक भित्राउन २०१९ मा कार्यक्रम गरिने र २०२० मा चीन र भारतबाट पर्यटक भित्राउने, २०२१ मा पोखरा विमानस्थलमा दैनिक ४ हजार पर्यटक उतार्ने र २०२२ मा २० लाख पर्यटक गण्डकी प्रदेशमा भित्राउने योजना सहित सरकार अघि बढेको बताए ।

प्रदेश घुम्न आएका पर्यटकको स्वागतका लागि होटल, ट्याक्सी, रेष्टुरेन्ट, ट्रेकिङ एजेन्सी लगायतले नमस्ते अभियान सुरु गर्नुपर्ने बताए ।

उनले भने, नमस्ते अभियानले पोखरामा ट्याक्सी चढ्ने पर्यटकलाई पैसा कति दिन्छौ भन्दा पनि नमस्ते गरी मन जितेर पैसा लिनुपर्छ ।

सरकारले गण्डकी प्रदेशभित्र पर्यटकीय गन्तव्यका प्याकेजमा निर्धारित शुल्क तोकिनुपर्ने बताए ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको सो कार्यक्रममा पर्यटन व्यवसायी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधिले आन्तरिक भ्रमण वर्ष सफल पार्न महत्वपूर्ण सुझाव दिएका थिए ।

उनीहरुले पर्यटकीय गन्तव्य पहिचान गरी निजी क्षेत्रलाई लगानीको वातावरण र सरकारले भौतिक संरचना बनाइनुदिर्ने सुझाव दिए ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलियाले सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सफल बनाउन व्यवसायीहरु इमान्दारका साथ लाग्नुपर्ने बताए ।

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...