सहसचिव श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर

news

काठमाडौं, पुस २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठले पदको दुरुपयोग गरी स्रोत नखुलेको सम्पत्ति जम्मा पारेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

श्रेष्ठ हाल वन तथा वातावरण मन्त्रालयको सहसचिवमा कार्यरत् छन् ।

सार्वजनिक सेवाको पदमा रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको सम्बन्धमा छानबिन गर्दा रु एक करोड ३४ लाख ५७६ बराबरको सम्पत्ति अवैध रहेको अनुसन्धानकाक्रममा फेलापरेको आयोगले जनाएको छ ।

सहसचिव श्रेष्ठले वि.सं. २०३८ माघ २८ गतेदेखि जाँच अवधिसम्म रु दुई करोड १० लाख ७७ हजार चार बराबरको आय–आर्जन गरेको पाइएको छ ।

सो अवधिमा निज तथा निजको परिवारका सदस्यको चल/अचल सम्पत्ति तथा सवारी खरिद, सेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैंक मौज्दातलगायतका शीर्षकमासमेत गरी रु तीन करोड ४४ लाख ७७ हजार ५८० बराबरको खर्च गरेको देखिएको छ ।

आयोगकाअनुसार वैध आयको तुलनामा रु एक करोड ३४ लाख ५७६ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएकाले श्रेष्ठको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएको छ ।

सहसचिव श्रेष्ठले राष्ट्रसेवक भएपश्चात के–कस्तो स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेबाट गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आयोगको ठहर छ ।

आयोगले स्रोत नखुलेको सम्पत्ति श्रेष्ठको श्रीमती जमुना तण्डुकार र जिल्ला नवलपरासी, स्वाठीकी भगवती योगीको नाममासमेत पाइएकाले उनीहरुविरुद्धसमेत विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

आयोगले बिगो असुलउपर गरी कैद सजायकोसमेत माग गरेको सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...