दिल्लीविरुद्ध च्यासलको फराकिलो जित

news

बिराज रोस्यारा (इमेज)

कैलाली, पुस २६ । धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपअन्तर्गत् तेस्रो खेलमा दिल्ली फुटबल क्लबलाई भ्याली च्यासल युवा क्लबले ६–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

च्यासलको जितमा विदेशी खेलाडी अर्मान्ड मोएनले ह्याट्रिक गरे ।

बिहीबार धनगढी रंगशालामा च्यासलले खेलको १४औं मिनेटमा अग्रता लिएको थियो । एल्भीसको पासमा सन्जोग राईले सहजै गोल गर्दै च्यासललाई अगाडि बढाए ।

३१औं मिनेटमा हेमन्त थापामगरले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारको भित्री भागमा लाग्दै गोलमा परिणत भयो ।

४०औं मिनेटमा सन्जोग राईको लामो पासलाई नियन्त्रणमा लिँदै अर्मान्डले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारले विपक्षी पोस्टको जाली चुम्यो ।

दोस्रो हाफमा पनि च्यासलले सुरुआतदेखि नै दबाब कायम राख्यो । ६१औं मिनेटमा अर्मान्ड मोएनले योगेश गुरुङको पासलाई सदुपयोग गर्दै च्यासललाई ४–० ले अगाडि बढाए ।

७३औं मिनेटमा अर्मान्डले प्रहार गरेको फितलो प्रहार दिल्लीका गोलरक्षकले रोक्न नसक्दा च्यासल ५–० ले अगाडि बढ्यो । यो गोलसँगै अर्मान्डले ह्याट्रिक पूरा गरे ।

इन्जुरी समयको पहिलो मिनेटमा सन्तबहादुर गुरुङले गोल गर्दै च्यासललाई ६–० को जित दिलाए ।

खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै अर्मान्डले १० हजार रुपैयाँ प्राप्त गरे ।

जितसँगै च्यासल क्वार्टरफाइनलमा पुगेको छ । च्यासलले अब क्वार्टरफाइनलमा थ्रीस्टार क्लबको सामना गर्नेछ ।

प्रतियोगिताअन्तर्गत् शुक्रबार हुने खेलमा रुपन्देहीको गोर्खा ब्वाइजले काठमाडौंको क्लब संकटाको सामना गर्नेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया