लुम्बिनीमा हरेक महिना कुनै न कुनै कार्यक्रम आयोजना गर्नोस् : मन्त्री अधिकारी

news

भैरहवा, पुस २७ । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ सुरु भएको छ ।

मार्टको शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरे ।

मार्टलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले लुम्बिनीको प्रचार–प्रसार बढाउन लुम्बिनीमा हरेक महिना कुनै न कुनै कार्यक्रम आयोजना गर्न लुम्बिनी विकास कोष र पर्यटन व्यवसायीलाई सुझाव दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको सहकार्य तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)ले संयोजन गरेको मार्टमा १७ देशका १५० बढी पर्यटन व्यवसायीहरुको सहभागिता छ ।

नेपालमा पहिलोपटक आयोजना गरिएको मार्टमा ‘बिजनेस टु बिजनेस मिटिङ’सहित बुद्ध पर्यटन प्रवद्र्धनका विविध पक्षका सम्बन्धमा छलफल हुने बताइएको छ ।

मार्टमा म्यानमार, थाइल्यान्ड, बंगालादेश, अष्ट्रेलिया, जर्मनी, अमेरिका, भारत, चीनलगायत १७ ओटा मुलुकबाट टूर अपरेटर, ब्लगरहरु, सम्बन्धित देशका सरकारी प्रतिनिधिहरु सहभागी छन् ।

शनिबारसम्म चल्ने मार्टका सहभागीहरुलाई तानसेन, तौलिहवा, निग्लिहवा, कुदान, रामग्राम, देवदह, कपिलवस्तुलगायतका पर्यटकीय, धार्मिक एवं पुरातात्विक महत्वका स्थानको अवलोकन भ्रमण गराइने जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...