आयल निगम प्रमुख सुरेन्द्र पौडेलका चुनौती

news

काठमाडौं, पुस २७ । मुलुकको राजनीतिसँग प्रत्यक्ष सम्बन्ध जोडिने पेट्रोलियम पदार्थको कारोबार गर्दै आएको नेपाल आयल निगमको नेतृत्वमा सुरेन्द्रकुमार पौडेल आएपछि निगममा सुधार आउने धेरैको अपेक्षा छ ।

प्रतिस्पर्धाबाट निगमको ‘कमान्ड’ सम्हालेका पौडेल त्यतिखेर चर्चामा आएका हुन्, जतिखेर वर्षौंसम्म घाटामा गएको उदयपुर सिमेन्ट उद्योगलाई तीन वर्षको अवधिमा नै नाफामा लैजान सफल भए ।

सिमेन्ट उद्योगमा पाएको सफलतालाई निगममा पनि निरन्तरता दिन भने पौडेललाई जहज छैन ।

सर्वसाधारणको दैनिक अत्यावश्यक वस्तुसँग जोडिएको निगमको सुधारका लागि पौडेलकासामु धेरै चुनौती छन् । निगम राजनीतिसँग पनि जोडिएको हुँदा पौडेललाई काम गर्न थप जटिलता देखिन्छ ।

निगममा वर्षौंदेखिको पेट्रोलियम पदार्थ चुहावट नियन्त्रण गर्नुपर्ने दायित्व पौडेलमा आएको छ । निगमकै कर्मचारीको मिलेमतोमा चुहावट हुने र व्यवसायीको पन्जाबाट निगमलाई बाहिर निकाल्नुपर्ने चुनौती पनि उनकासामु छ ।

निगम प्रमुख पौडेलले तत्कालै स्वचालित मूल्य प्रणालीको विकास गर्नुपर्ने, भन्डारण क्षमता विस्तार गर्नुपर्ने बताउँछन्, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे ।

यस्तै, पेट्रोलियम पदार्थको पाइपलाइन निर्माणलाई तीव्रता, निगममा हुने गरेको अनियमितता नियन्त्रण, सहज पेट्रोलियम पदार्थको व्यवस्थापन, घाटामा गइरहेको संस्थानलाई नाफामा लैजानुपर्ने चुनौती पौडेलकासामु छन् ।

निगमका कर्मचारी र इन्धन व्यवसायीबीच हुँदै आएको भनिएको साँठगाँठलाई निस्तेज पार्न सक्नुपर्नेछ ।

निगमलाई सवलरुपमा अगाडि बढाउन धेरै चुनौती रहेपनि निगमको ‘रिफर्म’ गर्न आफू निगम आएको भन्दै उनले सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अहिलेकै अवस्थामा निगम रहन नसक्ने भन्दै पौडेलले निगममा भएका विकृति र विसंगति हटाउने बताएका छन् ।

उदयपुर सिमेन्ट उद्योगलाई पुनर्जीवन दिन सफल भएका नाताले पौडेल चार वर्षको आफ्नो कार्यकालमा निगमलाई पनि कायापलट गर्न सफल हुने अपेक्षा गरिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...