‘आइरिस मेसिन’ र ‘बायोमेट्रिक’ विवरणसहितको अध्यागमन सूचना प्रणाली जडान गर्ने तयारी

news

मीरा बस्नेत र दिलिप पोखरेल (इमेज)

काठमाडौं, पुस २८ । सरकारले नेपाल आउने र बाहिरिने विदेशी नागरिकको निगरानीका लागि नयाँ प्रविधिबाट सुरक्षा जाँच गर्ने तयारी गरेको छ ।

अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत अन्य नाकाबाट भित्रिने र बाहिरिने विदेशी नागरिकका लागि आँखाको नानी ‘रिड’ गर्ने ‘आइरिस मेसिन’ र ‘बायोमेट्रिक’ विवरणसहितको अध्यागमन सूचना प्रणाली जडान गर्ने तयारी गरेको हो ।

गृह मन्त्रालयले सन् २०१८ मा अध्यागमन कानुन उल्लंघन गर्ने ७०१ जना विदेशी नागरिकलाई निष्कासन गरेको छ ।

भिसा अवधिभन्दा बढी बसेका र फरक–फरक कसुरमा पक्राउ परेका ६२ मुलुकका नागरिकलाई गृहले निष्कासन गरेको थियो । यसले अवैधरुपमा नेपालमा बस्ने विदेशीको संख्या निकै ठूलो रहेको देखाउँछ ।

विदेशीको अवैध बसाइँ सुरक्षाका लागिसमेत खतरा हुनसक्ने भन्दै अध्यागमन विभागले विदेशीको नेपाल बसाइँमासमेत कडा निगरानी र अनुगमन बढाउने भएको हो ।

विदेशी नागरिकमाथि कडाइ गर्न अध्यागमन विभागले विभिन्न नाकाबाट भित्रिने र बाहिरिनेहरुको बायोमेट्रिक विवरणसहितको अध्यागमन सूचना प्रणाली जडान गर्न लागेको हो ।

करिब २४ करोड रुपैयाँको लागतमा यो प्रविधि जडान गर्न लागिएको हो ।

जडान गरिने आइरिस मेसिनले आँखाको नानी पढ्नसक्छ भने बायोमेट्रिक मेसिनले हातका औंठाछाप पढ्नसक्छ ।

नेपालमा हाल प्रचलनमा रहेको नेपाली भिसा स्टिकर गुणस्तर र सुरक्षाको हिसाबले निकै नै कमजोर छ ।

अध्यागमन प्रशासनमा देखिएका विकृतिलाई पूर्णरुपमा समाप्त गर्न अध्यागमन प्रणालीलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय मापदन्डअनुसार बनाउन लागिएको विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए ।

विभागले चालू आर्थिक वर्षभित्रै देशका १८ ओटा अध्यागमन कार्यालय, अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थानकक्षमा अत्याधुनिक डेस्क स्थापना गरिनेछ ।

विभागका महानिर्देशक पौडेलले नेपाल भित्रिएका विदेशी नागरिकका विवरण गृह मन्त्रालय, अध्यागमन विभाग, राहदानी विभाग, इन्टरपोललगायतका कार्यालयमा जोड्ने प्रविधिको विकाससमेत गरिने बताए ।

८० प्रतिशत विदेशी पर्यटक अन्तर्राष्ट्रिय विमानस्थलबाटै आउने भएकाले पहिलो चरणमा यहीँबाट काम सुरु गरिने उनले जानकारी दिए ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया