सशस्लाई हराउँदै काँकडभिट्टा सेमिफाइनलमा

news

बिराज रोस्यारा (इमेज)

कैलाली, पुस २८ । मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार धनगढी रंगशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा काँकडभिट्टाले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ ले पराजित गरेको हो ।

सशस्त्रले खेलमा सुरुआती अग्रता लिएको थियो । नवौं मिनेटमा युवराज खड्काले गोल गर्दै सशस्त्रलाई अग्रता दिलाए । श्याम नेपालीले दिएको लामो पासलाई युवराजले गोलमा परिणत गरेका थिए ।

खेलको ४१औं मिनेटमा काँकडभिट्टाका विश्वास श्रेष्ठले बराबरी गोल फर्काए ।

खेल सकिन तीन मिनेट समय बाँकी रहँदा काँकडभिट्टाले अर्को गोल थप्यो । कर्नरमा आएको बल रिबाउन्ड भएपछि विकास राईले ६ यार्ड बक्सनजिकबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

योसँगै २–१ को जित निकाल्दै काँकडभिट्टाले अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो ।

खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै काँकडभिट्टाका विश्वास श्रेष्ठले १० हजार रुपैयाँ प्राप्त गरे ।

काँकडभिट्टाले अब फाइनल प्रवेशका लागि थ्रीस्टार क्लब र भ्याली च्यासल युवा क्लबबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताअन्तर्गत् आइतबारको दोस्रो क्वार्टरफाइनल खेल नेपाल पुलिस क्लब र ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लबबीच हुने आयोजकले जनाएको छ ।

सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...