नैतिकताको प्रश्न रविन्द्र अधिकारीलाई

news

-संजिव कार्की 

प्रिय रविन्द्रजी,

तपाईको निष्ठाप्रति औंला उठाउनु पर्दा बहुतै विस्मित छु । खिन्न छु ,मेरो आफ्नो नियति र देशको भाग्यसँग खेद छ मलाई । तपाईहरु जत्तिको युवा नेताहरुप्रति जो जहाँ रहुन जुन सिद्धान्तलाई काँध हालुन ती देशका भविष्य र सम्भावना हुन् । तिनलाई निरुत्साहित गर्नु हुँदैन बरु सकेको टेको दिनुपर्छ, सहयोगी हात दिनुपर्छ भन्ने मेरो मान्यता छ । तर आज तपाईंलाई नैतिकता सिकाउनु पर्दा म दिलदेखि नै आहत छु । नैतिकताको सम्बन्ध केवल पद हुनु नहुनुमा सिमित मात्र छैन । नैतिकता भनेको जबाफदेहीता , कर्तव्य र भूमिका पनि हो । म तपाईलाई नैतिकता सिकाउने हैसियत राख्दिन तर जनमनको आवाज तपाईले कस्तो नैतिकता देखाई दिए हुन्छ भन्ने छ ।  सो को जानकारी मात्र पेश गर्न चाहेको छु । शेरबहादुर तामाङले नारी अस्मिता विरुद्ध नजानेर बोल्दा या भएको तथ्य मिलाएर भन्न नजान्दा सजिलै राजीनामा दिएर आफ्नो उचाई बढाए, घटाएनन् । उनले माफि मात्रै मागेको भए पनि काफि नै हुन्थ्यो । बोली चिप्लिदा मन्त्री पद छोडे तर तपाई माथि भ्रस्टाचारको बात लाग्यो तर जितार गरेर बस्नु भयो । यो किमार्थ सुहाउँने कुरा भएन । नेपाली समाजले पचाएन । अझ तपाई कै पार्टीपंक्ती र तपाई हुर्केको नर्सरी अखिलले शायद रुचाएको छैन यो जिद्दी र हठलाई । कतिले सार्वजनिक रुपमा व्यक्त गरेका पनि छन् । कतिले अनुशासनको कारण देखाएर ब्रम्ह सत्यलाई लुकाएर नै पार्टी भक्ति र तपाईको भक्त भएको प्रमाण दिदैछन ।

प्रिय मन्त्री ज्यू,

अथाह सम्भावना भएको नेतालाई उसको भविष्यलाई , सकारामकताको पर्दा हालेर नकारात्मक बन्न प्रेरित गरेर कतै सिद्द्याउने खेल आफु भित्रै, आफ्नै पार्टी भित्रबाट भएको पनि त हुँन सक्छ नि ? तपाईको  बदनामीमा आफ्नो उत्थान र तपाईको ख्यातीमा आफ्नो पतन देख्ने आन्तरिक प्रतिस्पर्धी पनि त छन् नि पार्टी भित्र होइन र ? आन्तरिक राजनीतिको अंक गणित, वीज गणित शायद मैले भनेको भन्दा तपाईले बेहोरेको सत्य हो । तपाईलाई थाह छ । पार्टी फुटे देखि पुनः जोडिदासम्म आफुप्रति भएको न्याय अन्यायको तपाई भुक्तभोगी हुनुहुन्छ । तपाईलाई यो पनि थाह छ पार्टीको शक्तिको अघि व्यक्तिको शक्ति केहि होइन भन्ने कुरा २०५६ को निर्वाचनमा तपाइले दुई हजार मत कटाउन नसकेको स्थिति र २०७४ को भारी मतले विजय बन्दाको स्थीति मूल्यांकन गर्नुस त ? व्यक्ति निष्ठा, त्याग, बलिदान र इमान्दारिताले महान हुन्छ तसर्थ पद भन्दा व्यक्तिको निष्ठा र इमान चैं सधै रहने कुरा हो । नृत्य निरन्तर त इमान नैतिकता र सच्चरीत्रता हुनुपर्छ । क्षणिक पदको तागत र शक्ति भन्दा नैतिक तागत चै जिन्दगीभरको लागि विश्वासिलो र भरपर्दो सम्पति हो । किन लोभ गर्नुहुन्छ जाबो पदको ? अभियोग लाग्दैमा अपराधी र पापी त हुदैन नि ? गल्ती गरेको छैन भने किन पदमा बसेर अभियोग लुकाउन लागिपरेको अर्को बात सहनु हुन्छ ? पद बाहिर रहेर निष्पक्ष छानबिनको लागि सहयोग गर्नुस त तपाईको राजनीतिक हाइट कति बढ्छ ? पदमै बसेर निर्दोष देखिनु भन्दा पद बाहिर बसेर छानबिन पछि चै निर्दोष देखिनु तपाईको र पार्टीको हितमा छ । 

अभियोग र बात लागेको व्यक्ति पदमा बसेर निष्पक्ष छानबिन हुन्छ भनेर कसले पत्याउने ? कुन न्यायको सिद्दान्त हो त्यो जसले पदमा रहेर आफू माथिको चार्जको सफाइ दिन पाउछ ? जिद्धी र अनियमको सिद्दान्त भए बेग्लै कुरा अन्यथा तपार्इंको अन्तरात्माले पनि स्वीकार गर्दैन यो ढीट र जिद्दीलाई । आफ्नो विवेक बन्धक बनाएर राजनीति गर्नुभयो भने राजनीति सकियो हैन अन्तर हृदयको आवाजलाई सुनेर निर्णय गर्ने क्षमता राख्नु भयो भने राजनीति कसैले सिद्ध्याउँदैन, सिद्धिन्न । तपाईको निष्ठा र इमानले जोगाउँछ । अन्यथा राम रामको नियति कहिँ जाँदैन । धर्म सिद्धिएको राजनीति भनेर बदनाम छ राजनीति । राजनीतिको बदनामी रोक्न पनि यसको धर्म र साश्वत कायम राख्न पनि कहिलेकाहीं चाहेर नचाहेर रेटिनु पर्दो रहेछ तर आज भोगेको पीडाले भोली बदलामा ठूलो पुरस्कार पनि त दिन सक्छ । राजनीतिमा हराएको धर्म कायम गर्न पनि कसै न कसैले स्याक्रीफाइस गर्नुपर्छ त्यो शेरबहादुर तामाङले गरे । अब तपाई पनि गर्नुस, होचो बनिदैन । होचो त जबर्जस्ती पदलाई पेवा र स्थाई जागिर सम्झेर बस्यो भने भइन्छ ।

प्रिय अधिकारी ज्यू,

गलत छैन, भएको हैन भने लान्छानाले केही लछारपाटो लगाउँदैन बरु अझ खारिन र अर्जापिन सहयोग गर्छ । तसर्थ नबिराउनु नडराउनु हैन र ? वाइडबडी जहाज खरिद सम्बन्धमा तपाई कै पार्टी नेताको समेत तपाईप्रति प्रश्न छन् । औंला उठाएका छन् । विपक्षीको कुरा के हो किन भने त्यता नजानोस् तर सत्य बाहिर ल्याउने हिम्मत गरेर मन्त्रीपद त्याग्नुस र इमान्दार भएर सहयोग गर्नुस । एकपटक आफ्नो भनाई गराईमा कहाँ समस्या आयो त्यो मूल्यांकन गर्नुस । आत्मा समिक्षा गर्नुस ? किन तपाई माथि लान्छानको तीर सोझियो ? तपाई त्यही अखिलको नेता हो जसले सडकमा बसेर सँधै नैतिकताको कुरा बोल्यो ? नैतिकताका आधारमा राजीनामा भनेर सडकबाट क–कसको राजीनामा माग्नु भयो त्यो गणना गर्नुस । तपाई त्यहि अखिलको अध्यक्ष हो जसले पूर्व अधिराजकुमार पारशको पदवी खोस्नुपर्छ भनेर आन्दोलनको नेतृत्व गर्नुभयो ।  सार्वजनिक यातायातमा बिद्यार्थी सहुलियत ३३ प्रतिशत दिनुपर्छ भनेर आन्दोलन गर्नुभयो र त्यो कायम गर्न सफल हुनुभयो । त्यस्तो छवि बोकेको मान्छे छायाँरुपी मन्त्री पदसँग किन त्यो गर्विलो अतित साटन तयार हुनुभयो ?

राजनीतिमा अरु धेरै खुड्किला चढेर माथि जाने सम्भावनाको हत्या किन आफैं गर्न लालायित बन्दैहुनुहुन्छ ? कुर्सीको् जादुई मोहमा तपाई फस्नुलाई तपार्इंको पार्टी मात्र हैन विपक्षी समेत दंग परेर हेरीरहेका छन् । केहि समय पहिले पत्रकारसँग तपाइले जुन ब्यबहार गर्नुभयो र माइक खोस्ने जुन ध्रिस्टता गर्नुभयो अनि मन्त्री जस्तो मान्छेलाई त्यस्तो सानोतिनो प्रश्न गर्ने भनेर जसरी बोल्नु भयो तपाईलाई सत्ताको मात चढेको सबैले सहजै अनुमान गरेका थिए । आफ्नो पद त्यो बोली र व्यवहार बीच कुनै सामन्जस्यता थियो थिएन, सोच्नु भयो कहिल्यै ? वाइडबडी किनेको हो या भाडामा ल्याएको हो त्यो त बताउन सक्नु भएन भने तपाई नैतिकरुपमा त्यहि जबाफदिन नसकेर चुक्नुभयो भन्ने मेरो पहिलो बुझाइ र नैतिकताको प्रश्न रह्यो । तपाईको विचार र महालेखाको विचार फरक पर्नासाथ तपाईलाई प्रश्न नै प्रश्नको तिर लाग्न थालेको हो नि हैन र ? केही त्रुटी लुकाउन तपाई ठुलै भुल गर्दै हुनुहुन्छ जसको पहिलो शिकार तपाई नै हो भन्ने तथ्य नभुल्नुस । एक गल्ती ढाकछोप गर्न अरु सयौ गल्ती कमिकमजोरी गर्नुपर्ने हुन्छ । जसको तथ्य सार्वजनिक भएपछि जबाफदेहिता तपाईको नै हुन्छ भने किन त्रुटी करेक्सन गरेर नजाने ? आफ्नो जीवनको सुनौलो अवसरबाट कतै बिमुख बन्न लाग्नुभयो कि मेरो सरोकार यही हो । म जस्ता तपाईलाई असल देख्न चाहने मान्छेको आशामा तुषारापात नगर्नुस मन्त्री ज्यू । तपाईलाई जतिसुकै बाध्यता, अप्ठ्यारो र संगिन घडि भए पनि जालझेल षडयन्त्र ढाकछोप र तिकडम सुहाउन्न ।

आफूलाई कहिल्यै नसुहाउने कुरा गरेर हल्का बन्न मिल्छ र मन्त्री ज्यू ? तपाईको नैतिकता र राजीनामा किन भेट हुन सकेन । आजभोली यो कुराको चर्चा कहाँ छैन र ?  यति धेरै चर्चा आलोचना र नैतिक प्रश्न आर्थिक मामला त्यो पनि आजसम्म कै ठुलो ,लाखौं हैन करोडौ हैन अर्बौको कुरा आउँदा किन देखाउनु पर्दैन नैतिकता ? मन्त्री रविन्द्र अधिकारीको राजीनामा, नैतिकता, देखाउनको लागि, सिकाउनको लागि अनि थिति बसाल्नका लागि आवश्यक हैन अत्यावश्यक हो । भलै आरोप, अभियोग प्रमाणित हुन, नहुन अख्तियार आदालत र अरु थुप्रै दुरी बाँकी छन् । तर नैतिकता प्रदर्शन गर्ने दुरी र मार्ग भने यहिसम्म मात्र हो । आजको घाटाले भोली ठुलो नाफा निम्त्याउछ भने आज अहिले नै तुरुन्तै किन घाटाको व्यापार नगर्ने ? राजनीतिमा आज गरेको फाइदाको व्यापार भन्दा भोली हुने फाइदाको व्यापार चैं सर्वोत्तम व्यापार हो भन्छन राजनीतिका पण्डितहरु । वाइडबडी प्रकरणमा आजको सत्ता र तिनका मुखिया मात्र हैन हिजोको सत्ता र तिनका मुखियाको पनि संलग्नताको चर्चा चलेको छ । लहरो तान्दा पहरो थर्कने भयले सबै साझेदार कतै एक ठाउँमा आएर देशघात त गर्दैनन् ? त्यसको खबरदारी पनि रवीन्द्रको नैतिकता हो । आफू जलेर अरुलाई उज्यालो बाँड्नु पर्ने मान्छे अरुलाई जलाएर जाडोमा आगो ताप्नु राजनीतिक नैतिकता होइन सर ? 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...