एनआरएनएको आवरणमा गैरकानुनी काम गर्ने छुट कसैलाई छैनः कुल आचार्य (उपाध्यक्ष-एनआरएनए)

news

नवौं विश्व सम्मेलनमा जुट्नुभएको छ, कसरी भइरहेको छ तयारी ?

विशेषत हामीले प्रत्येक दुई बर्षमा गैर आवसीय नेपाली संघ(एनआरएनए)को विश्व सम्मेलन नेपालमा नै गर्ने गर्र्छौं । नेपाल सरकारको परराष्ट्र मन्त्रालयको संयोजकत्वमा सम्मेलन नेपालमा नै गर्दै आइरहेका छौं । भर्खरै सकिएको फेस टु फेस बैठकबाट आगामी सन् २०१९को अक्टुबर १३ देखी १६ सम्म नवौं विश्व सम्मेलन गर्ने भनेर निर्णय भएको छ र भब्य रुपमा सम्मेलन सफल बनाउछौं ।

यतिबेला हाम्रो कार्याकालमा भएका कामहरुको सबै प्रतिवेदनको तयारी गरिरहेका छौं । अक्टोबर ११ मा एनआरएन डे मनाउँदै विश्व सम्मेलनको प्रक्रिया अघि बढाउने गरी काम भइरहेको छ । सबैले आ–आफ्नो क्षेत्रबाट काम गरिरहेका छौं । तयारी सुरु भइसकेको छ ।

समग्रमा तपाईंहरुको यो दुई बर्षे कार्याकाल कस्तो रहयो ?

हुनत संस्थामा नयाँ व्यक्ति आउँदैमा केही हुने होइन । तर संस्थाले अंगिकार गरेका कार्यक्रमहरु लगिनुपर्ने हुन्छ र कार्यान्वयनमा आउनुपर्छ भन्ने मेरो मान्यता हो । पहिले शेष घलेज्यूको कार्याकालमा तय भएका मेगा प्रोजेक्टको काम अहिले भइरहेको छ । मैंले नै नेतृत्व गरेको ललितपुरको शंखमुल पार्क निर्माण सकिएको छ । यता बालुवाटारमा करिब २५ करोडको लागतमा एनआरएनए भवन निर्माण अवस्थामा छ ।

त्यस बाहेक लाप्राक बस्ती निर्माणको अभियानमा छौं । त्यहाँ ५७३ वटा घरहरु निर्माण भइरहेका छन् । बैशाखसम्ममा घरहरु हस्तान्तरण गर्न सक्छौं भन्ने लागेको छ । अहिले हामीले माइक्रो फाइनान्स सुरु गरेका छौं । पत्रकार महासंघको इ–लाइब्रेरी, अन्य च्यारिटीका कामहरु भइरहेका छन् । हामीले पनि केही नयाँ काम सुरु गरेका छौं । विभिन्न व्यक्तिहरुले जिम्मा लिनुभएको कामहरु धमाधम भइरहेका छन् । विनाशकारी महाभूकम्पका बेला हामीले नेपालीहरुको दुःखमा साथ दिन सकेका थियौं जस्तो लाग्छ ।

मध्यपूर्व र खाडी देशहरुका नेपालीहरुको पक्षमा एनआरएनएको भूमिका प्रभावकारी भएन भन्ने आरोप छ नि ?

कुनैबेला त्यस्तो आरोपहरु आउने गर्थे तर अहिले हामीले त्यस्तो आरोप खेप्नुपरेको छैन् । किनकी अहिले ति देशहरुमा काम भइरहेको छ । व्यवस्थित रुपमा हामीले सकेको काम गरिरहेका छौं । अहिले कोष(फरेन इम्प्लोएमेन्ट फन्ट) नै खडा गरेर काम गरिरहेका छौं । अफ्ठयारो परेको बेला सहायता गरिरहेका छौं । हाम्रो लक्ष्य अब सेभ माइग्रेसनको अभियान हो, यसमा हाम्रो ध्यान केन्द्रित भएको छ । मुलुकको आर्थिक उन्नतीमा ठूलो सहयोग पुर्‍याउने खाडी र मध्यपूर्व अर्थात मलेसियामा रहेका नेपालीहरु विना एनआरएन रहनै सक्दैन । यसतर्फका नेपालीहरुसँग हामी गम्भीर छौं ।

यतिबेला खाडीमा रहेका धेरै नेपाली जेलमा हुनुहुन्छ, विरामी परेर घर फर्किन सक्नुभएको छैन्, यसतर्फ तपाईहरुको भूमिका प्रभावकारी देखिदैन नी ?

भर्खरै मात्र परराष्ट्रमन्त्री र परराष्ट्र सचिबलाई भेटेर यसबारेमा जानकारी गराएका छौं । तथ्याकंहरुसहित मन्त्रीलाई सरकारका तर्फबाट पहल गरिदिनुहोस भनेका छौं तर कुनै कुनै गम्भीर घटना र परिस्थितिले व्यक्ति जेल परेको हुन्छ, त्यस्ता केसहरुको समाधान हाम्रो पहलमा हुन सक्दैन । कसैको व्यक्तिगत आचरण र व्यवहारले जेल परेको छ भने हामी चाहेर पनि केही हुँदैन । तर पनि हामीले रेकर्ड बनाएर नेपाल सरकारको तर्फबाट पहल गरिदिन आग्रह गरेका छौं । यसका लागि नेपाल सरकारलाई सहयोग गर्ने बचन दिएका छौं ।

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदानका लागि एनआरएनको भूमिका के छ ?

वास्तवमा यसका लागि दुई क्याटोगरीका नेपालीहरु हुनसक्छन् । अदालतले दिएको निर्देशन अनुरुप नेपाल सरकारले प्रक्रिया अघि बढाइसकेपछि यसको सहयोगका लागि हामी जुनसुकै बेला तयार छौं । मतदानको सम्पूर्ण संयन्त्र परिचानल गर्ने काम सरकारको हो । हामी प्राविधिक र अन्य सहयोग गर्न तयार छौं । विश्वका अन्य थुप्रै मुलुकहरुले विदेशमा रहेका आफ्ना नागरिकलाई मतदान अधिकार प्रदान गरिरहेको बेला हामीले अधिकार प्रयोग गर्न किन नपाउने ? सरकार यसतर्फ गम्भीर बन्नसक्नुपर्छ ।

एनआरएनएभित्र दलगत, क्षेत्रीय र जातीय राजनीति हावी हुन थाल्यो भनिन्छ नि ?

एनआरएनमा गुट–उपगुट र हारजित हुनुहुँदैन भन्ने हो । तर हामी यसलाई चिरेर अघि बढ्ने पहलमा छौं । चुनावका बेला जे जस्तो भएपनि काम गर्ने सवालमा हाम एक ढिका छौं । वास्तवमा दलगत र जातिय राजनीतिको कलर नआएको होइन तर हामीले यसलाई व्यवस्थित बनाएर लानेमा सधैं एक भएका छौं । संस्था फुटयो, क्षतविक्षत भयो भनेर कहीं पनि तपाईंले भेट्नुहुन्न । पराजित भएका उम्मेदवाहरु पनि हामीसँगै काम गरिरहनु भएको छ । सहायता गरिरहनु भएको छ । हामीबीच तिक्तता छैन र हुनेछैन । हामी सबै एक छौं साथै नेपाल र नेपालीका लागि काम गर्न एकताबद्ध भई अघि बढ्न तयार छौं ।

भिजन–२०२० एण्ड वियोन्ड नारासहितको अभियानको काम के भइरहेको छ ?

हाम्रो संस्था ठूलो भइसक्यो, ८० देशमा भइसक्यौं । भिजन–२०२० एण्ड वियोन्ड नारा तत्कालिन अध्यक्ष शेष घलेज्यूले प्रस्तुत गर्नुभएको हो । यसलाई दिर्घकालिन रुपमा स्थापित गराउनका प्रयासमा छौं र प्रक्रिया अघि बढीसकेको छ । भावी सन्ततीहरुलाई यसमा सामेल गराउनका लागि युएनको जस्तो सिस्टम बसाउन यस्तो गरेका हौं । यसैलाई मध्यनजर राखेर हामी अघि बढिरहेका छौं । यद्यपी, काम गर्दै जाने सवालमा लागु नै गरेर अघि बढ्न त सकेका छैनौं । तर भविष्यमा यही नारामार्फत सिइयोले संस्था चलाउन सक्नुपर्दछ भन्ने हाम्रो मूल ध्येय हो । यसका लागि एकदमै सक्षम र उत्कृष्ट भिजन भएको व्यक्ति आवश्यक पर्दछ । त्यसैले यो नारालाई सार्थक तुल्याउन धेरै प्रयास भइरहेको छ ।

यही चैत्र महिनामा सरकारले लगानी सम्मेलनको तयारी गरिरहेको छ । यसमा एनआरएनएको भूमिका कस्तो रहन्छ ?

हामीलाई यसको निमन्त्रणा आइसकेको छ । एनआरएनए र सरकारबीच इन्भेस्टमेन्ट फन्ट बनाऔं र काम गरौं भन्ने हाम्रो प्रस्ताव हो । यो लगानी सम्मेलनमा हामी प्रस्तुत गरेको श्वेतपत्र अनुसार काम गरौं भनेका छौं र हामी गतिलो साझेदारका रुपमा उभिन तयार छौं । डायस्पोरामा रहेका नेपाली जस्तोसुकै सहयोग र विज्ञ उपलब्ध गराउन तयार छन् ।

उज्यालो नेपाल अभियान कहाँ पुग्यो ?

अहिले छलफल चलिरहेको छ । कम्पनी फर्म गरेका छौं । हुन त यो नेपालमा उर्जा बचतको अभियान हो । एलइडी बल्ब गाउँ शहरमा सदुपयोग गरौं भन्ने हो । काम भइरहेको छ । 

एनआरएनको आवरणमा गैरकानुनी कामहरु भइरहेका छन् भन्ने खबरहरु सार्वजनिक भइरहेका छन् । यसलाई कसरी नियन्त्रण गर्ने ?

म एकदमै कडा रुपमा के भन्न चाहन्छु भने एनआरएनको आवरणमा समाजसेवा गर्ने वहानामा संस्थालाई बदनाम गराउँछ भने त्यसको म खुलेर विरोध गर्दछु । ५० लाख नेपाली जोडिएको संस्थामा लोभलालच गर्छ भने त्यो आपत्तिपूर्ण छ । ब्यवसाय वा समाजसेवा गर्नुपर्छ तर संस्था बदनाम गराउने प्रयास हुन्छ भने त्यो सहय हुँदैन । 

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार र नागरिकता दिलाउने प्रक्रिया कहाँ पुग्यो ?

यी दुवै काम पूरा गर्ने जिम्मेवारी नेपाल सरकारको हो । हामी निरन्तर खबरदारी गरिरहेका छौं । विदेशमा मतदाता नामावली संकलन देखि मतदानका अन्य प्रक्रियाहरुमा सहयोग गर्न हामी तयार छौं । नेपाली नागरिकताका सवालमा संविधानमा नै ब्यवस्था छ । यसलाई चाँडै अघि बढाउन हामीले सरकारलाई पटक पटक आग्रह गरिसकेका छौं ।  यो नहुँदा नेपालको धन विदेशीरहेको छ, यसलाई रोकथामका लागि पनि एनआरएनएलाई नागरिकता जरुरी छ । यसका लागि संसदमार्फत विधेयकमार्फत काम अघि बढीसकेको छ । देशमा विदेशबाट आर्थिक सहायता भित्र्याउन पनि नागरिकता एकदमै जरुरी देखिन्छ । 

प्रस्तुतीः युवराज गौतम(ईमेज)

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...