महाभारतकी कुन्ती-३०

news

-हरिविनोद अधिकारी

कृष्णले जब मलाई धर्मको पनि नयाँ परिभाषा खोज्नुस् भनेर मीठो भाषामा चुनौती दियो, मैले पनि धर्मको वारेमा नयाँ नयाँ जानकारी प्राप्त गर्न थालेँ । एउटै महाभारतमो युद्धप्रति जेठाजुको बुझाइ र धारणा , गान्धारी दिदीको बुझाइ , मेरो बुझाइ र परिणामप्रतिको धारणामा आकाश जमिनको फरक थियो । म वास्तवमा मौन बसेर आफूलाई गुम्स्याउने खालकी । तर मैले धेरै ऋषिसँग सम्पर्क र संगत भएकाले धर्म र अधर्मका बीचमा मिहिन तरिकाले बुझेने कोसिस पहिले पनि गरेकी थिएँ र झन अहिले त कृष्णले नै मैले बुझेको भन्दा नयाँ तरिकाले धर्म र अधर्मलाई बुझ्न झकझकाएको थियो र म नयाँ तरिकाले धर्मको परिभाषा र अर्थ खोज्न बाध्य भएकी थिएँ । 

मेरो माइतीमा मलाई सबै भन्थे—राजकुमार भएर जन्मनु पर्ने कहाँ राजकुमारी भएर जन्मेकी ? यो राज्यको जिम्मा त पृथाले नै लिनु पथ्र्यो राजा भएर । अर्थात् म सानैदेखि हक्की स्वभावकी थिएँ र महाराजसँग बसेर राजकाजका काममा समेत आफ्ना धारणा दिनेगर्थेँ ।  महाराज पाण्डुसँग त मेरो कुरा राज्य सञ्चालनस्तरमा पनि हुन्थ्यो । जेठाजु राजा भएपछि भने कुनै पनि कुरा सोध्नु भएन किनभने मेरा छोराहरु प्रतिस्पर्धी राजकुमार जस्ता ठानिए । 

वास्तवमा धर्मयुद्ध भनियो महाभारतको युद्धलाई, किन होला ? धर्म र युद्धका बीचमा के सम्बन्ध हुँदो रहेछ र ? धर्म भनेको प्रचलित धारणामा धारणा गर्नैपर्ने कुराहरुको पालना हो । अर्थात् मानव हुनका लागि जेजे आवश्यक पर्छ नैतिक गुणहरु , तिनको धारणा गर्नु जरुरी हुन्छ । एउटा राजाले धर्म यसकारणले पालना गर्नैपर्छ कि जनता पाल्नु उसको कर्तव्य हो र आफ्ना आवश्यकता पूरा गराउनका लागि राज्यको भर पर्नु पर्ने जनताको अधिकार हो । राज्यको पहिलो कर्तव्य नै आफ्ना प्रजाको हितका लागि सबैप्रकारको संरक्षण प्रदान गर्नु हो । शिक्षाको अधिकार त त्यसलाई मात्र दिइनु पर्छ जो योग्य छ, धर्म त्यसैले मात्र पालना गर्छ जसले धारण गर्नसक्छ । त्यसैले त धर्म र अधर्मको कुरा आएछ र राज्यको बाँडफाँटको विषयलाई नै धर्म र अधर्मको श्रेणीमा राखिएछ । युधिष्ठिरको पक्ष धर्मको पालनामा देखिएछ र जेठाजुको पक्षमा अधर्मको बढी नै सेवा भएको मानिएछ । 

जब जेठाजुले  राज्य समाल्नु भयो महाराज पाण्डुको अनुपस्थितिमा, त्यही बेलादेखि नै  उहाँलाई महाराज भएर नै रहने लालसा लागेको बुझिएकै थियो । कस्तो विडम्बना, भारतमा राजा हुने कोही पनि थिएनन्  । पहिले दृष्टिविहीन भनेर राज्यारोहण नगराइएका जेठाजुलाई महाराज पाण्डुको वनगमन र स्वेच्छाले राज्यको दायित्वबाट आफूलाई अलग गरेपछि हस्तिनापुरमा एउटा तरङ्ग आएछ । वास्तवमा पाण्डु महाराजलाई लागेको थियो क्या रे, अब म राजा भएर फर्कने होइन, जसरी पनि पितामहले व्यवस्था गर्नु नै हुनेछ । वास्तवमा स्वयं महाराज पनि पितामहप्रति बढी नै निर्भर हुुनुहुन्थ्यो र पितामहका प्रत्येक आदेश उहाँका लागि धर्मसिन्धुका वाक्यझैँ थिए । वेदवाक्यसरह मानिने पितामहका आदेश र चतुरता नै हस्तिनापुरको उपस्थिति थियो विश्वमा, भारतवर्षमा । 

अझ पछिका परिणामले देखाए, उहाँ सन्तान उत्पादन गर्नका लागि एकान्तवासमा आउनु भएको रहेछ । जबदेखि हामी वानप्रस्थी भएका थियौँ, हाम्रो वास्ता गरिएको छैन भन्ने महाराज र हामीलाई लागेको थियो । हामी भन्नाले म र माद्रीसहित दिदीबहिनीलाई । एकदिन महाराजले मलाई एउटा अचम्भको प्रश्न गर्नुभयो—पृथा, भन त, हामीले सन्तान अब कसरी जन्माउन सक्छौँ ? मलाई किन्दमबाट जुन श्राप परेको छ, त्यसले मेरै सन्तान पाउन त तिमीहरुलाई सम्भव भएन, तर मलाई हस्तिनापुरको राजा चाहिएको छ । कसरी सम्भव होला त ? 

मैले मौनताबाहेक अर्को उपाय देखिन । मनमा त लागेको थियो, मेरो छोरो त जन्मेको थियो नि, कता होला , कहाँ होला र यदि त्यही भए पनि अहिले अड्को पड्को तेलको धुप त हुन्थ्यो । कस्तो फसाद, जेठाजुको पनि कुनै सन्तान जन्मेको हामीलाई जानकारी थिएन, विदुर शूद्रको रुपमा रहेकाले महामन्त्रीमात्र हुनसकेका थिए । राजा हुने सम्भावना थिएन किनभने उनलाई वेदको र शस्त्रास्त्रको ज्ञान गराइएको थिएन । शास्त्रको ज्ञान, राजनीतिको ज्ञान र परराष्ट्रनीतिको ज्ञानमात्र सिकाइएको थियो । 

कुन धर्मले कसरी कुन परिस्थितिमा महर्षि पराशरपुत्रको रुपमा  निषाद धीवरकी छोरी मझिनी मत्स्यगन्धाबाट व्यासजी जन्मे पनि ब्राह्मणको रुपमा स्वीकार गरिएको थियो तर विदुरलाई भने शूद्रको रुपमा मात्र राखिएको थियो । कति कुरा त बुझ्न मलाई अझै पनि मुस्किल परिरहेको छ । फेरि जसको क्षेत्रमा अन्न उब्जिन्छ, त्यो अन्न उसैको हुने भनेजस्तै कर्णको जन्म पनि मेरो कोखबाट भए पनि अविवाहित किशोरीबाट जन्मेको र मेरो विवाह पाण्डु महाराजसँगमात्र भएकाले पहिले जन्मेको छोरो पनि महाराजको नै हुने प्रचलन भारतमा थियो । मलाई त्यो बच्चा कहाँ छ भन्ने पनि थाहा थिएन, जीवित तथा मृत के हो भन्ने पनि थाहा थिएन तर एउटा विश्वस्त सूत्रले भनेको थियो कि हस्तिनापुरको कुनै सारथिले त्यो कर्ण कुण्डल र कबचसहितको बच्चा फेला पारेर पालेको छ रे । मैले महारानी हुँदा पनि त्यो बारेमा खासै जानकारी लिन सकिन किनभने मेरो भित्रीमन डराएको थियो पुराना कुरा कसैले थाहा पाउँछन् कि भनेर । झन पटरानीका रुपमा रहेकी महारानीले कसरी पहिले पाएको छोरो खोज्दै हिँड्ने ? तर मेरो मस्तिष्कमा  त्यो बालकको निर्दोष र झलझलाकार अनुहार अहिले पनि ताजा छ । अनि महाराजले त्यस्तो केही थाहा पाएर पो यस्तो कुरा गरेको हो कि भनेर म तर्किएँ र आफू त्यस्तो कुनै बच्चा पाउन पनि तयार नरहेको र त्यसो गर्नु अपराधसमेत भएको जिरह गरेँ । 

महाराज अन्यमनस्क भावले मलाई हेर्दै छक्क पर्नुभयो किनभने त्यो बेलाभन्दा पहिले कहिल्यै पनि मैले ठूलो स्वरले जिरह गर्दै महाराजका कुरामा तर्कने काम गरेकी नै  थिइँन । बहिनी माद्री झन् छक्क परिन् र मतिर हेरेर जिज्ञासपूर्ण प्रश्न गरिन् । मलाई कर्णकै नियास्रो र छटपटी पनि थियो तर कसैले थाहा पो पाए कि भन्ने डर पनि थियो । महाराजले बिस्तारै भन्नुभयो—कुन्ती, तिमीबाहेक मेरो अर्को सल्लाहकार पनि कोही छैन, आधार पनि कोही छैन र भरोसा पनि तिमीसँग बाहेक अरुसँग छैन । तर तिमी नै भन, के हस्तिनापुरलाई राजाविहीन बनाउन मिल्छ म जीवित हुन्जेलसम्म ?पितामह बच्चा न जन्माउने, विदुर भाइले राज्य सञ्चालन गर्नका लागि सिँहासनमा बस्न नहुने, दाजु धृतराष्ट्र दृष्टिविहीन भएकाले नै मैले राज्य चलाउनु परेको तथ्य पनि बिर्सन नमिल्ने छ । दाजुका पनि कोही सन्तान जन्मेका छैनन् । भन्न त भाउजुले १००ओटा छोरा पाउने भनेर गान्धार नरेश सुवल महाराजलाई बाध्यतावश छोरी दिन लगाइएको थियो । तर अहिलेसम्म भाउजुबाट पनि कुनै सन्तान जन्मेनन् । अनि यदि मैले पनि कुनै उपाय गरिन भने एकातिर हस्तिनापुरको सिँहासन खाली हुनेछ एकदिन अनि अराजकता फैलिने छ यो भारतवर्षमा । चक्रवर्ती महाराजको सिँहासन नै खाली भयो भने के हुने छ तिमी आफैँ सम्झ त । 

यो अनुरोध र तर्कका पछिल्तिर मेरोबारेमा कुनै जानकारी भएजस्तो लागेन । अनि मैले पनि सहज भएर भनेँ-महाराज, यहाँ धेरै ऋषिहरु हुनुहुन्छ, उहाँहरुसँग पनि सल्लाह लिउँ र कुनै त्यस्तो  उपाय निकाल्न पनि सकिन्छ कि ? अनि पाण्डु महाराजले रुन्चेस्वरमा भन्नुभयो-अब म सम्माननीय ऋषिहरुलाई सोधौँ कि मेरा छोराछोरी हुँदैनन् गुरुहरु, अब मेरा दुईओटा रानीहरुबाट केही बच्चाचाहिँ चाहियो हस्तिनापुरका लागि राजा र राजकुमारहरु भनेर । मलाई श्रापको चिन्ताभन्दा अब यो गोपनीयता खुलासा गर्न अपसोच लागेको छ र त तिमीसँग नेहोरा गरेको । कृपया, तिमीले मात्र यो समस्याको समाधान दिनसक्छ्यौ भनेर सल्लाहमात्र होइन कि बच्चा पाउनका लागि तयारी समेत गर्न भनेको हुँ । आँखा चिम्लेर ध्यानमग्न भएर भित्रैबाट आवाज निकाल्दै भनेका यी भनाइले मलाई छोयो र मैले पनि भन्न बाध्य भएँ-महाराज, मलाई दुर्वासा ऋषिबाट त्यस्तो बशीकरण मन्त्र प्राप्त भएको छ किशोरी हुँदा । मैले बोलाएको देवता, यक्ष, किन्नर, राक्षस जो भए पनि मेरो समीप आउने छन् र मलाई त्यस्तो बच्चाको अभयदान दिनेछन् जस्तो मैले कामना गर्नेछु । तर मैले आजसम्म त्यसको आवश्यकता महसुस गरेकी थिइँन र बोलाएकी पनि थिइन किनभने मलाई तपाईँको पँुँस्त्वप्रति गर्व थियो, गर्व छ र मैले पाउने बच्चा भनेको महाराज पाण्डुको औरस पुत्र नै हुनेछ । कति राजाका पुत्र नभएर पनि राज्य खाली भएका थिएनन् इतिहासमा । कोही कोही त आउने छ राजा हुन । यदि मैले पाउनु नै पर्छ भने अयौन पुत्रमात्र जन्माउने छु । त्यसो गर्नका लागि देवता नै योग्य वशीकरणीय पात्र हुने मेरो ठम्म्याइ छ । 

महाराज एकछिन गम्भीर भएर सोच्न थाल्नु भयो र भन्नुभयो-अयौन बच्चाबाट फेरि बच्चा हुनेछन् या हुनेछैनन् ? वास्तवमा म कसरी भन्नसक्थेँ यो प्रश्नको जबाफ ? तर स्थिति तातो देखिएकोले भनेँ-म त पृथा हुँ, मानुषी हुँ नि त, मैले जन्माएका छोराहरु पनि मनुष्य नै हुने छन् किनभने देवतामात्र अयौन हुन्  नि त ? तर अन्तरमनमा कर्ण नै थियो जो सखल्ल पुरुषको रुपमा जन्मेको थियो । यौनजन्य बालक । स्पष्ट पुल्लिङ्गी । जन्ममा पीडा थिएन,स्पर्शले मात्र पनि गर्भ बस्ने । देवतासँगको सहवासमा सहजीकरण गर्न सहज पनि । देवताहरुको स्वर्गमा जायजन्म नहुने भएकाले बच्चाप्रतिको मोह र उत्तरदायित्व पनि लिने भन्ने सुनेकी थिएँ  जस्तो कि कर्णका वारेमा सूर्यको चासो पनि सम्झेकी थिएँ । 

नभन्दै महाराजले मेरो कुरा मान्नुभयो तर भन्नुभयो-अतिगोप्य । जुन बच्चा जन्मिन्छ, त्यो मेरै औरससरह हुनेछ । ऋषिहरुसँग म स्पष्टरुपमा औरसपुत्रका वारेमा भन्नेछु किनभने अरु कोही पनि बच्चाको पिता हुन आउने छैन मेरो क्षेत्रमा । त्यसैले ती औरस नभए पनि क्षेत्रज हुनेछन् जुन म हुँ, मेरो पिताजी हुनुहुन्थ्यो अतीतमा । विचित्रवीर्यको अन्त्य भएको धेरैवर्षपछि दाजु, म र भाइ जन्मेका हौँ उहाँको क्षेत्रमा । माताहरुका गर्भबाट । त्यसैले हामी विचित्रवीर्यका सन्तान नै मानियाँै । अहिले त म छु, म कबोल गरिरहेको हुनेछु मेरा सन्तानका वारेमा, म शिक्षादीक्षा दिनेछु आफैँ पनि शस्त्रास्त्रको, धनुर्वेदको , नीतिशास्त्रको र राजनीतिशास्त्रको । 

नभन्दै वशीकरण मन्त्रका प्रतापले मैले धर्मराजबाट युधिष्ठिर पाएँ, वायुबाट भीमसेन पाएँ र इन्द्रबाट अर्जुन पाएँ । अर्जुन जन्मँदै गर्दा आकाशवाणी भयो,अर्जुन र भीमसेन मिलेपछि धृतराष्ट्रका सयभाइ छोराहरुलाई जित्नेछन् । त्यसले के पनि जानकारी पाइयो भने हस्तिनापुरमा जेठाजुका सयभाइ छोराहरु जन्मिएछन् । पछि पो थाहा पाइयो कसरी दुर्योधनादि सयभाइ छोराहरु भए र एउटी छोरी दुःशला पनि जन्मिइन् । वैश्य कुमारीबाट जेठाजुको एउटा अर्को छोरो पनि जन्मिएको रहेछ जसलाई युयुत्सु भनेर भनिन्छ । महाभारतको  युद्धमा त्योचाहिँ मेरा छोराहरुतिर लागेको थियो । जेठाजुलाई एउटा खुसी त्योमात्र थियो कि युयुत्सु जीवितै छ । तर बाहिर भने त्यो देखाउन चाहनु हुन्थेन । 

पाण्डु महाराजमा एउटा तनाव थियो दुर्योधनादिको जन्मले एकातिर भने युधिष्ठिर नै पहिलो सन्तान भएकाले आशा पनि थियो हस्तिनापुरको उहाँको नासो राज्य युधिष्ठिरको नै हुनेछ । धृतराष्ट्र महाराजलाई महाराज पाण्डु व्यास र पितामहपछिको सम्मान दिनुहुन्थ्यो तर  जेठाजुमा भने आफूभन्दा पहिले नै भाइ राजा भएकोमा भित्र कतै कुण्ठा र ईष्र्या पालेको कुरा दिदी बारम्बार सुनाउनु हुन्थ्यो र यसमा पाण्डुको दोष नरहेको पनि भन्नुहुन्थ्यो । अर्थात् राजा त धृतराष्ट्र नै हुनुपर्ने तर पितामहले हुन नदिएको कुरामा भने कता कता चित्त दुखाइ रहेको छनक दिनुहुन्थ्यो । 

न दोष पितामहको थियो, न दोष व्यासजीको थियो, न दोष राजमाता सत्यवतीको थियो । त्यो त नियतिको लेखान्त थियो र हुने हुनामीलाई कसैले पन्छाउन नसक्ने अवस्था थियो । परिणाम आफैँ आउने कुरा कृष्ण बारम्बार भन्ने गर्छ । कर्तव्य गर्दै जाऊ, या नगर । तर पनि हुने हुनामी नभई छाड्दैन र परिणाम जे हुुनुपर्ने हो भएरै छाड्छ । जस्तो कि महाराज पाण्डुको अन्त्य अचिन्त्यरुपमा भएको थियो किनभने अब कसरी हस्तिनापुरमा प्रवेश गर्ने र महाराजले युधिष्ठिरलाई युवराज घोषणा गर्ने भन्ने छलफलमात्रै हुँदै थियो । कुनै तिथि र प्रक्रियाका वारेमा पितामहसँग गोप्य छलफल गर्ने काम सुरु नै भएको थिएन । अनायाश भएको पाण्डु महाराजको स्वर्गारोहणले एउटा वैध प्रश्न उठ्न सम्भावना थियो-मेरा र माद्रीका सन्तानका वारेमा । किनभने मैले तीनओटा छोराहरु जन्माएपछि माद्रीले पनि मेरै वशीकरण मन्त्रका बलले अश्विनीकुमारका तर्फबाट जम्लाहा छोराहरु नकुल र सहदेवको जन्म भएको थियो । पाण्डु महाराजले मेरा छोराहरु, मेरा उत्तराधिकारीहरु यिनै हुन् , अब युधिष्ठिर मेरो जेठो छोराको रुपमा युवराज घोषित होस् भनेर राजसभामा प्रस्ताव गर्दाको सहज अवतरण जुन हुनसक्थ्यो, त्यो अव सम्भव थिएन र शङ्काको तुवाँलोले ढाक्न सक्थ्यो भनेर मलाई डर लागिरहेको थियो । 

कहाँ म धर्म र अधर्मका वारेमा तर्कना गर्न थालेकी थिएँ , कहाँ पाण्डव र कौरवको जन्मको प्रसङ्गमा यत्रोबेर रल्लिएँ । धर्म र अधर्म अनि नियतिको चालका वारेमा सप्रसङ्ग सम्झन मन लाग्यो यो एकान्त र अन्तिम अवस्थामा । न सत्यवती बाँकी रहनु भयो, न अम्बा, अम्बालिका राजमाताहरु रहनु भयो । सबैको धरोहर र साक्षीका रुपमा देवव्रत र वेदव्यासमात्र हुनुहुन्छ । अनि यी सबै कुराको नियतिको सञ्चालक कृष्ण छ । अनि म पनि ऋषिहरुलाई लिएर हस्तिनापुर गएकी थिएँ महाराजको अन्त्येष्टि सकेर । क्रमशः

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...