वैदेशिक रोजगारीका नाममा चेलीबेटी बेचबिखनको धन्दा (भिडियो रिपोर्ट)

news

मीरा बस्नेत र लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, माघ ८ । गाउँका सोझासाझा चेलीबेटी फकाएर केही वर्षअघिसम्म सीमापारि बम्बईको कोठीमा लगेर बेच्ने दलालको गन्तव्य र तरिका पछिल्ला दिनमा फेरिएको छ ।

सोझै लगेर बेच्नेभन्दा पासपोर्ट बनाएर वैदेशिक रोजगारीका आडमा बेचबिखन बढेको तथ्यांकले देखाउँछ ।

वैदेशिक रोजगारीका लागि विदेश पुगेकाले जब दुःख पाएर काम छाडेर फर्किन खोज्छन्, तब रोजगार दिने व्यक्तिले किनेर ल्याएको दाबी गर्ने गरेका धेरै घटना सार्वजनिक भइरहेका छन् ।

मानव बेचबिखनविरुद्ध सहकर्मी समूह ‘एट्वीन’ले गरेको एक अध्ययनमा ओमानमा अलपत्र परेकी महिलालाई नेपाल फिर्ता पठाउन खोज्दा दूतावासमै आएर आफूले ती महिलालाई किनेको बिल ओमानीले देखाएका थिए । यसबाट पनि पुष्टि हुन्छ, वैदेशिक रोजगारीको आडमा मानव बेचबिखन हुने गरेको छ ।

केही वर्षअघिसम्म चेलीबेटी बेचबिखनको मुख्य गन्तव्य भारतमात्र थियो । तर, पछिल्ला वर्षमा वैदेशिक रोजगारीको बहानामा खाडी राष्ट्रदेखि युरोप–अमेरिकासम्म कुनै न कुनै रूपले युवा–युवतीहरू बेचबिखनमा परिरहेका छन् ।

आर्कषक रोजगारीको प्रलोभन देखाइ साउदी अरब, कतार, मलेसिया, चीन, ओमान पाकिस्तानलगायत विभिन्न मुलुकमा उनीहरुलाई बेचिने गरेको छ ।

एट्वीन नेपालकी कार्यकारी निर्देशक बेनु गुरुङकाअनुसार वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन गर्नेलाई कानुनी कारबाहीमा ल्याउन निकै गाह्रो परिरहेको छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या धेरै छ । तर, अवैधानिक तरिकाले भारत हुँदै नेपालीहरु विभिन्न मुलुकमा जाने भएकाले एकिन तथ्यांक पाउन निकै गाह्रो छ ।

श्रम स्वीकृति लिएर विदेशिएकाहरु पनि बेचबिखनमा पर्छन् भन्ने कुरा सरकारले नकार्दै आइरहेको गुरुङ बताउँछिन् ।

यौन व्यवसायका लागि तथा पहिले एउटा काममा लगाएर पछि यौन व्यवसायमा संलग्न गराउने, तोकेकोभन्दा फरक काम गर्न लगाउने, तोकेर लगिएको तलब पनि नदिनेलगायतका शोषण प्रभावितमाथि हुने गरेको छ ।

सरकारले केही वर्षयता घरेलु कामदारकारुपमा खाडी मुलुकमा श्रम स्वीकृति रोकेपछि अवैध बाटो हुँदै खाडी मुलुक जानेको संख्या बढिरहेको छ ।

मानब बेचबिखन तथा ओसार–पसार नियन्त्रण ऐन र वैदेशिक रोजगारी ऐन दुवै  पीडितमैत्री नभएको गुरुङको भनाइ छ । जसले गर्दा न्याय पाउन गाह्रो पर्ने र न्याय पाएपनि कार्यान्वयनमा चुनौती रहेको छ ।

तर, समस्या के पनि छ भने बेचबिखनमा परेकाहरु पनि कानुनी प्रक्रियामा जान नचाहने, मिलेमतोमा नै आफ्नो समस्या सुल्झाउने गर्छन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया