एन्फा ‘अनियमितता’को छानबिन गर्न समिति गठन

news

काठमाडौं, माघ ८ । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा)मा भएको ‘आर्थिक अनियमितता’को छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले एन्फामा भएको आर्थिक अनियमितताको विषयमा छानबिन गर्न मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको संयोजकत्वमा उपसचिव समन्तमणि आचार्य र संघ–संस्था विभाग प्रमुख डेमबहादुर बस्नेत सदस्य रहेको सो समित गठन गरिएको मन्त्री विश्वकर्माका स्वकीयसचिव सुशील विकेले बताए ।

एन्फा निर्वाचनमा आर्थिक अनियमितता र भ्रष्टाचार भएको विषय सार्वजनिकरुपमा उठेपछि खेलकुद मन्त्रालयले समिति गठन गरेको हो ।

एन्फाले यसअघि पत्रकार सम्मेलन गर्दै आफूमाथि लागेका सबै आरोप निराधार भएको बताउँदै आएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षले अखिल नेपाल फुटबल संघ (एन्फा)मा अनियमितता भएको भन्दै उजुरी दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोबारे छानबिन गर्न मन्त्रालयलाई पत्राचारसमेत गरेको थियो ।

आयोगको पत्रपछि मन्त्रालयले छानबिन समिति बनाएको हो ।

अख्तियारले युवा तथा खेलकुद मन्त्रालयलाई लेखेको पत्रमा पछिल्लो समय नेपाली खेलकुदमा भइरहेका गतिविधिबारे छानबिन गर्न र विशेषगरी एन्फामा भएको भनिएको भ्रष्टाचारको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेस गर्ने निर्देशन दिएको थियो ।

गत पुस १७ गते फुटबल संघ काठमाडौंका अध्यक्ष विराटजंग शाही, ललितपुर अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुर अध्यक्ष गौतम सुखजु र धादिङ अध्यक्ष दीपक खतिवडाले अख्तियारमा उजुरी दर्ता गरेका थिए ।

यसैबीच, एन्फा प्रवक्ता किरण राईले भ्रष्टाचारको आरोप प्रमाणित भए कारबाही भोग्न वर्तमान नेतृत्व तयार रहेको बताए । उनले छानबिन समितिलाई सहयोग गर्नेसमेत स्पस्ट पारे । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया