चिकित्सक आन्दोलनमा उत्रिएपछि देशका अधिकांश अस्पतालको सेवा प्रभावित

news

काठमाडौं, माघ १८ । डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि देशका अधिकांश अस्पतालको सेवा प्रभावित भएको छ ।

नेपाल चिकित्सक संघले आज आकस्मिकबाहेकका सबै सेवा बन्द गर्न आह्वान गरेपछि अस्पतालका सेवा प्रभावित भएका हुन् । तर डा. केसी नै अनसनरत त्रिवि शिक्षण अस्पताल महाराजगन्जको सेवा भने आंशिकमात्र प्रभावित भएको छ ।

शिक्षण अस्पताल प्रशासनले नियमित सेवा जारी राख्न निर्देशन दिएपछि कतिपय चिकित्सक नियमित काममा सक्रिय छन् । संघमा आबद्ध कतिपय चिकित्सक भने डा. केसीको जीवनरक्षाको माग गर्दै काम नगरी बसेका छन् ।

डा. केसीले अनसन सुरु गरेको २४ दिन भइसक्दा पनि सरकारले उनको जीवनरक्षाका लागि कुनै पहल नगरेको भन्दै आक्रोसित चिकित्सकहरुले आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेर सरकारलाई दबाब दिएका हुन् । डा. केसीको मागलाई बेवास्ता गरी संघीय संसद्का दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पारित भएको विरोधमा चिकित्सकले आन्दोलन थालेका हुन् ।

संघले आजको आह्वान सांकेतिक मात्र भएको जनाएको छ ।

शिक्षण अस्पताल महाराजगन्जले भने सेवा नियमित भइरहेको जनाएको छ ।

यता वीर अस्पतालका चिकित्सकहरुले भने आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन् । चिकित्सक संघको निर्णयपछि आज देशका अधिकांश सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेजलगायतका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका अन्य सेवा प्रभावित भएका हुन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...