कलाकार बिएस राणाको निधन

news

काठमाडौं, माघ १८ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले जानकारी दिए ।

करीब ३० वर्ष बेलायतमा बसेका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गरेका थिए । विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय शुरु गरेका राणाले दर्जनौं चलचित्रमा अभिनय गरेका छन् ।

उनले दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्तीगलगायतका चलचित्र तथा दर्जनौं टेलिचलचित्रमा अभिनय गरेका छन् ।

काठमाडौँ बूढानीलकण्डका स्थायी बासिन्दा राणा केही समयदेखि ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए । उनको श्रीमती र तीन छोरी छन् । उनको छोराको भने केही वर्षअघि नै निधन भइसकेको छ । (रासस)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया