अब डा. केसीको अनशन के हुन्छ ?

news

प्रज्ञा तिमल्सिना र योगेश लामा (इमेज)

काठमाडौं, माघ १८ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पुग्दासम्म पनि सरकारले डा. गोविन्द केसीसँग औपचारिक संवाद थालेको छैन ।

२४ दिनदेखि अनशनरत् डा. केसीलाई बेवास्ता गर्दै विधेयक पारित भएपछि भेट्न पुगेका प्रतिपक्षी दलका नेताले पनि अनशन तोड्न आग्रह गरेका छन् ।

सत्तापक्षको बेवास्ता र प्रतिपक्षीको आग्रहकाबीच अब डा. केसी के गर्छन् ? धेरैको चासोको विषय बनेको छ ।

सरकारले १५औंपटकको अनशनमा आफूसँग गरेको सम्झौता कार्यान्वयनको माग राख्दै १६औंपटकको अनशन सुरु गरेका डा. केसीसँग सरकारले वार्ता र संवादबिना नै बिहीबार राष्ट्रियसभाबाट पनि चिकित्सा शिक्षा विधेयक पास गर्‍यो ।

प्रतिपक्षीको अवरोध र डा. केसीको अनशनको बेवास्ता गर्दै विधेयक पास भएपछि अब डा. केसीको अनशनले कस्तो रुप लिन्छ ? अन्योल देखिएको छ ।

अवरोध गर्दा–गर्दै पनि संसदीय मोर्चामा पराजित भएपछि नेपाली कांग्रेसले डा. केसीलाई हाललाई अनशन तोड्न र चिकित्सा शिक्षा सुधारको आगामी आन्दोलनको नेतृत्व गर्न आग्रह गरेको छ ।

प्रतिपक्षीले अनशन तोड्न आग्रह गर्ने र सत्तापक्षले बेवास्ता गर्ने अवस्थाकाबीच डा. केसीको मागप्रति भने बुद्धिजीवी, पूर्वप्रधानन्यायाधीश, पूर्वराष्ट्रपति, नागरिक समाज र आमजनताको समर्थन भने कायमै छ ।

अनशनको दिन बढ्दै जाँदा डा. केसीले उठाएका एजेन्डासँगसँगै उनको जीवन बचाउने एजेन्डा महत्वपूर्ण बन्दै गएको छ ।

डा. केसीलाई भेट्न अनशनस्थलमै पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. केसीलाई अनशन तोड्न आग्रह गर्दै संसदीय मर्यादा नै उल्लघंन गरी सरकारले विधेयक पास गरेकाले कडा विरोध गर्ने भनेर डा. केसीलाई आश्वस्तसमेत पार्न खोजे ।

उता, सरकारले औपचारिकरुपमा डा. केसीसँग संवाद नथालेपनि र केही मन्त्रीले ‘अनशन तोड्दा हुन्छ’ भनेर ओठे जवाफ दिएपनि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने डा. केसीको जीवनप्रति संवेदनशील रहेको बताएका छन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...