डा. केसीले तोडे अनशन, विधेयकमा पुनःविचार गर्न राष्ट्रपतिलाई आग्रह

news

काठमाडौं, माघ १८ । चिकित्सा शिक्षा सुधारको माग राख्दै २४ दिनदेखि अनशनमा रहेका प्रा. डा. गोविन्द केसीले शुक्रबार साँझ अनशन तोडेका छन् ।

नागरिक अभियन्ताहरुको चौतर्फी दबाबपछि डा. केसीले अनशनस्थल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै अनशन तोडेका हुन् ।

शिक्षण अस्पतालका सरसफाइका कर्मचारी अमृत पुजारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमनाथ ढुंगानाको हातबाट जुस पिएर डा. केसीले अनशन तोडेका हुन् ।

अनशन तोडेलगत्तै डा. केसीले आफ्नो स्वास्थ्य अवस्थाप्रति शुभेच्छुकहरुबाट व्यक्त भएको चिन्ता र भविष्यमासमेत चिकित्सा शिक्षा सुधार अभियानमा निरन्तर लागिरहने प्रतिबद्धताका कारण अनशन तोडेको बताए ।

जनता मार्न ल्याइएको चिकित्सा शिक्षा विधेयक आफूलाई स्वीकार्य नभएको भन्दै डा. केसीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिकित्सा शिक्षा विधेयक पुनःविचारका लागि फिर्ता पठाउनसमेत आग्रह गरे ।

१५औंपटकको अनशनको समयमा सरकारले गरेको सम्झौता कार्यान्वयन नभएसम्म आफ्नो लडाइँ निरन्तर रहने भन्दै डा. केसीले सम्झौताअनुरुप ऐन नआए अर्को सत्याग्रह सुरु गर्न बाध्य हुने बताए ।

डा. केसीलाई अनशन तोडेलगत्तै उपचारका लागि आइसीयुमा लगिएको छ ।

यसअघि, शुक्रबारै पूर्वराष्ट्रपति डा. रामवरण यादवसहितका नागरिक अगुवाहरुले डा. केसीलाई अनशन तोड्न आग्रह गरेका थिए ।

पूर्वराष्ट्रपति यादव, पूर्वप्रधानन्यायाधीश कार्की, पूर्वसभामुख ढुंगाना, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा तथा माथेमा कार्यदलका सदस्यहरु प्रा. डा. मदन उपाध्याय, प्रा. डा. रमेशकान्त अधिकारी, प्रा. डा. अर्जुन कार्की र प्रा. डा. भगवान कोइरालाले डा. केसीलाई भेटेर अनशन तोड्न आग्रह गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया