यौन दुर्व्यवहारका घटनामा पीडकलाई किन हुँदैन कारवाही !

news

काठमाडौं, माघ २० । यौन दुर्व्यवहारका घटनामा पीडकलाई कारबाहीको व्यवस्था रहे पनि सो कानुनको कार्यान्वयन उचित ढंगले हुन सकेको छैन । सार्वजनिक स्थानमा हुने यौन दुर्व्यवहारका घटनामा पीडक दण्डित भएको पनि बिरलै सुन्न पाईन्छ ।

केही समयअघि सार्वजनिक यातायातमा एक महिलामाथि यौन दुर्व्यवहार भएको घटना सामाजिक सञ्जालमार्फत बाहिर आयो । उक्त घटनाका दोषी अझैसम्म कारबाहीको दायरामा आउन सकेका छैनन् । सार्वजनिक स्थानमा महिलामाथि हुने यौन दुर्व्यवहारका घटनाहरुमध्ये धेरैजसो घटना पीडितभित्रै अथवा निकटका ब्यक्तिहरुबीच मात्रै सीमित रहन्छन् । यस्ता घटनाको उजुरी गरेमा पीडित र परिवारको इज्जतमा धक्का पुग्ने डरले गुपचुप राख्ने गरिन्छ । जसका कारण दोषीमाथि कारबाही हुन नपाउने र उनीहरु अर्को दुर्व्यवहारका लागि प्रोत्साहित हुने अधिवक्ता मिरा ढुङ्गाना बताउँछिन् ।

मुलुकी फौजदारी संहिता ऐनले यौन आशयले जिस्काउने, छुने, अश्लिल संकेत वा क्रियाकलाप गर्ने जस्ता व्यवहारलाई यौन दुर्व्यवहारका रुपमा परिभाषित गरेको छ । कसैले यस्ता क्रियाकलाप गरेको ठहरिएमा कसुरवारलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनमा उल्लेख छ । कानुनले यौन दुर्व्यवहारलाई निरुत्साहन गरेता पनि समाजमा बारम्बार हुने दुर्व्यवहारका घटनामा कानुन कार्यान्वयन नभएको प्रष्ट हुन्छ ।

प्रचलित कानुनको बारेमा सर्वसाधारण सुसूचित नहुनु, पीडितले पीडकका विरुद्ध उजुरी नदिनुलगायत कारणले कानुन अनुरुप सजाय हुन नसकेको अधिवक्ता ढुंगानाको भनाइ छ ।

सार्वजनिक यातायात, शैक्षिक संस्था, कार्यालय लगायतका स्थानमा हुने यौन दुर्व्यवहारविरुद्ध महिला आफैँ उभिन सकेमात्रै कानुन कार्यान्वयनको पक्ष पनि सबल हुन्छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...