चिकित्सकको लापरवाहीले बालकको मृत्यु भएको भन्दै बिर्तासिटी अस्पतालमा तोडफोड

news

झापा, माघ २१ । उपचार गर्न ल्याइएका बालकको मृत्यु भएपछि झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा तोडफोड भएको छ । मेचीनगर नगरपालिका–५ चारआलीका उमंग राजवंशीका २५ महिने छोरा जेनीस राजवंशीको मृत्युको विषयलाई लिएर विवाद भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

बालक जेनीसलाई पखाला लागेपछि उपचारका लागि आइतबार अस्पताल ल्याइएको थियो । तर अस्पतालको गलत उपचारले बालकको ज्यान गएको भन्दै गएराति आफन्तले अस्पतालमा ढुंगामुढा गर्दै तोडफोड गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए ।

तोडफोडका कारण अस्पतालको आकस्मिक कक्षमा समेत क्षति पुगेको छ ।

अस्पतालका झ्याल, ढोका र आकस्मिक कक्षका मोनिटर तोडफोड भएको छ ।

बालकको मृत्यु भएपछि आक्रोशित भएका स्थानीयले अस्पतालका चिकित्सक र कर्मचारीलाई समेत हातपात गर्न खोजेपछि रातभर अस्पतालमा प्रहरी परिचालन गरिएको थियो । आक्रोसित भीड नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

अस्पताल प्रशासन, पीडित पक्ष र जनप्रतिनिधिबीच गएराति भएको छलफलसमेत निष्कर्षमा पुगेको छैन । तीनै पक्षबीच आज पनि छलफल गरिने प्रहरीले जनाएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...