डीपीएलमा काठमाडौंको विजयी सुरुआत, घरेलु टोली धनगढी पहिलो खेलमै पराजित

news

कैलाली, माघ २८ । काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको पहिलो खेलमा काठमाडौंले घरेलु टोली धनगढी स्टार्सलाई ४ विकेटको पराजित गरेको हो ।

सोमपाल कामीको कप्तानीमा रहेको धनगढीले दिएको १३३ रनको विजय लक्ष्य ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

काठमाडौंका लागि अंकिद दबासले २९, गौरव तोमारले २८, अनिलकुमार साहले २४, विक्रमकुमार भुसालले अविजित १४, महबुब आलमले अविजित १२ रनको योगदान गरे ।

धनगढीका रोहन मुस्तफाले सर्वाधिक ४ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित् २० ओभरमा ५ विकेट गुमाउँदै १३२ रन बनाएको थियो ।

धनगढीका लागि अमित श्रेष्ठले अर्धशतक, सन्दीप रजाइलीले २८ रन, सौरभ खनालले २५ र पवन सर्राफले १९ रन जोडे ।

काठमाडौंका लागि नन्दन यादव २ तथा ललित राजवंशी र अंकित दबासले १/१ विकेट लिए ।

डीपीएलको दोस्रो संस्करणको उपाधि टिम चौराहा धनगढीले जितेको थियो । योपालि धनगढी स्टार्सको नाममा घरेलु टोली प्रतियोगितामा सहभागी भएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...