गरिबको उपचार सरकारले गर्नेछ, नगरे अदालतमा मुद्दा दिन पाइन्छ : दाहाल

news

सिरहा, माघ २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनताको पक्षमा आफूले संविधान संशोधनका लागि लगातार पहल गरिरहेको बताएका छन् ।

सिरहाको अर्नमा गाउँपालिका–१, महनौरमा निर्मित स्वास्थ्यचौकीको सोमबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘संविधानलाई मधेसी जनताको आवश्यकताअनुसार संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, मैले र उपेन्द्र यादवले हस्ताक्षर गरेका छौं’–उनले भने ।

उनले मधेसको विकास निर्माणमा सरकारको ध्यान कम हुनेछ कि भनेर शंका नगर्न आग्रह गर्दै मधेसको विकास गरेरमात्रै मधेसी जनताको आकांक्षालाई सम्बोधन गर्नसकिने बताए ।

‘नेकपाले मधेसमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको छ’–उनले भने–‘तराई–मधेसको निम्ति झन्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ ।’

सिँचाइ र खानेपानीको दीर्घकालीन ढंगले समस्या समाधानका लागि आफूले सम्बन्धित मन्त्रालयमा कुरा राखेको उनको भनाइ थियो ।

‘अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाइँहरुको मागमा म सकारात्मक छु’–अध्यक्ष दाहालले भने–‘डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरो तर्फबाट तपाइँहरुलाई सहयोग रहनेछ । सिरहा जिल्ला आँप उत्पादनमा नेपालकै अग्रणी जिल्ला हो । यहाँको आँपको माग विश्वभरि नै छ । सिरहालाई आँपको जोनकोरुपमा विकास गर्न पहल गर्नेछु ।’

धानखेतीमा पनि सिरहा उर्वर जिल्ला रहेको बताउँदै उनले यसलाई धानको सुपरजोनकोरुपमा विकास गर्न आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

‘अहिलेको संविधानले जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारीलाई मौलिक अधिकारकारुपमा राखेको छ’–उनले भने–‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ । उपचार नपाएर गरिबीको कारण अब कोही मर्नुपर्ने छैन । गरिबको उपचार सरकारले गर्नेछ । नगरे अदालतमा मुद्दा दिन पाइन्छ ।’

पूर्वाधार विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना, निर्यात बढाउने र आयात घटाउने काममा पार्टी र सरकार लागिपरेको उनको भनाइ थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...