राजमार्गको जग्गा धमाधम खरिदबिक्री (भिडियो)

news

सञ्जय कार्की

रौतहट, माघ २९ । विसं २०२२ सालमा उद्घाटन भएको महेन्द्र राजमार्गको मातहतमा पर्ने जमिनहरु व्यक्तिकै नाममा बिक्री वितरण भइरहेको देखिएको छ । जुन समस्या रौतहटको चन्द्रपुर नगरपालिकाअन्तर्गत अधिकांश राजमार्ग मातहतका जमिनहरुमा पनि देखिएको छ ।

राजमार्गको दायाँबायाँ २५/२५ मिटर तथा सहायक मार्गको दायाँबायाँ १५/१५ मिटर जमिन छाडेर मात्र कित्ताकाट गर्नुपर्ने प्रावधान छ तर नापी कार्यालयले भने यो प्रावधानलाई कुल्चेर कित्ताकाट नगरीकनै भटाभट व्यक्तिको नाममा जमिन रजिस्ट्रेसन पास गराउन सिफारिस गरेको तथ्य खुलासा भएको छ ।

राजमार्ग देखाउँदा बढी राजश्व रकम तिर्नुपर्ने भएकाले त्यसो नगरीकनै कारोबारमा संलग्न बिचौलियाले कर्मचारीसँग मिलेमतो गरी जमिन व्यक्तिको नाममा पास गराउँदै आएका छन् । नापी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख संजय कुमार साहले राजमार्गको जमिन लगत कट्टा नभएकाले नापी कार्यालयले केही गर्न नसकेको धारणा राखे ।

यता, मालपोत कार्यालय चन्द्रनिगाहपुरका प्रमुख टिकाराम निरौलाले भने नापी कार्यालयबाट किताकाट नभएपछि सोही आधारमा जमिन पास गर्ने गरेको बताए ।

आफूले गरेको बदमासी छरपस्ट देखिएपछि नापी र मालपोत कार्यालयले भने एकअर्कालाई दोष लगाएर उम्कन खोजेको स्पष्ट देखिन्छ । यस्तै मालपोत कार्यालयले भने सडकको जमिन लगत कट्टा नहुनुमा सडक विभागको समेत कमजोरी भएको ठहर गरेको छ ।

यसैबीच डिभिजन सडक कार्यालय चन्द्रनिगाहपु्रका प्रमुख दरोगा प्रसादले सडकको जमिन बिक्री भएको सुनेकाले यस सम्बन्धमा खोजतलास शुरु गरिएको बताए ।

समय समयमा राजमार्गको जमिन अतिक्रमण भइरहेको भन्दै डिभिजन कार्यालयले सूचना जारी गर्दा समेत सम्बन्धित पक्षको ध्यान जान सकेको छैन । राजमार्गको जमिन ब्यक्तिको नाममा पास भएपछि उनीहरुले बैंकबाट ऋणसमेत लिएको दाबी स्थानीयको छ । जमिन कित्ताकाट गरी संरक्षण नगर्ने हो भने यसरी नै राजमार्गको अतिक्रमण भइरहने छ । 

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया