विधानलाई अन्तिम रुप दिन कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

news

काठमाडौं, माघ २९ । महासमितिले अनुमोदन गरेको विधानलाई अन्तिम रुप दिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी विधानभित्र समेटिएका केही विषयलाई परिमार्जन गर्दै नेविसंघको महाधिवेशनबारे छलफल गर्न आज पनि बैठक बस्न लागेको हो ।

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा विधानलाई अन्तिम रुप दिने र नेविसंघको महाधिवेशनबारे छलफल हुने बताइएको छ । कांग्रेसमा केन्द्रीय पदाधिकारी र सदस्यले पार्टीको वडा समितिबाटै निर्वाचित हुनुपर्ने वा अन्य प्रावधान राख्ने विषयमा बहस जारी छ ।

गत मंसिर २८ देखि पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो ।

महासमिति बैठकले केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटकमात्र हुने गरी विधान संशोधनको सुझाव दिएको थियो । यसअघि, हिजो बसेको बैठकमा महाधिवेशन प्रतिनिधि छनोटका विषयमा छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेन ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...