सिंगो गाउँ नै केरा खेतीमा

news

म्याग्दी, माघ २९ । म्याग्दीको बेनी नगरपालिका–२ खबरा गाउँका सबै कृषकले केरा खेती गरेका छन् ।

करिब १८ हेक्टर क्षेत्रफलमा गरिएको केराखेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको छ । धान, गहुँ, मकै, कोदोलगायतका परम्परागत बालीको विकल्पमा यहाँका कृषकले केरा खेती गरेर डेढ वर्षमै लाखौं रुपैयाँ आम्दानी लिन थालेका छन् ।

अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने केराखेती आम्दानीको गतिलो माध्यम बनेको कृषकहरु बताउँछन् ।

यहाँका कृषकले केरा बेचेरमात्रै गाउँमा वार्षिक ५० लाख रुपैयाँ भित्र्याउने गरेका छन् । केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने खबरा अहिले केराको बगैंचामा परिणत भएको छ ।

अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको अगुवा कृषक नारायण सापकोटाले बताए ।

सापकोटाका अनुसार ३ वर्षदेखि यहाँका कृषकले व्यावसायिक केरा खेती सुरु गरेका हुन् । करिब डेढसय घरधुरीको बसोबास रहेको खबराका बासिन्दा केही वर्षयता खेतबारी, कान्ला, खोल्सा, खरबारी जताततै केराखेती गरेका छन् ।

मजदूर अभावमा खाद्यबाली हुने जमिन बाझो रहन थालेको अवस्थामा केराखेती प्रभावकारी विकल्प बनेको स्थानीय बताउँछन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...