नेपाली सुन्तलाको गुणस्तर खस्कियो, आयातित सुन्तलाले बजार ओगट्दै (भिडियो)

news

काठमाडौं, माघ २९ । पहाडी भूभाग धेरै भएको नेपालमा सुन्तलाको उत्पादन पनि निकै हुने गरेको छ । तर पछिल्ला वर्षहरुमा बगैंचाको व्यवस्थापन राम्रो नहुँदा सुन्तलाको गुणस्तर खस्कँदै गएको छ ।

नेपालमा सुन्तलाको खपत धेरै हुने र आन्तरिक उत्पादनको गुणस्तर खस्किएकाले विदेशबाट आयातित सुन्तलाले बजार ओगटेको छ ।

सुन्तलाका पारखीहरु जाडो मौसमको प्रतीक्षामा हुन्छन् । यो मौसममा मात्र सुन्तला उत्पादन हुने भएकाले पनि यसको प्रतिक्षा हुने गर्छ । विशेषगरी नेपाली सुन्तलाको स्वादमा रमाउनेलाई आयातित सुन्तलाले कमै आकर्षित गर्छ । तर नेपाली सुन्तला बजारमा उपलब्ध नहुँदा र उपलब्ध सुन्तला पनि आकारमा साना र न्यून गुणस्तरको हुँदा अहिले धेरै मानिस बाध्य भएर आयातित सुन्तलामै भर पर्नु परेको छ ।

नेपालमा सुन्तलाको बजार ठूलो हुँदै जानु र उत्पादनको सिजन केही महिनामा सीमित हुनुले नेपाली सुन्तलाले माग धान्न नसकेको विज्ञहरु बताउँछन् ।

गुणस्तरीय बिरुवा उत्पादन नहुने र बगैंचा व्यवस्थापन पनि राम्रो नहुँदा आन्तरिक उत्पादनमा ह्रास आएको विज्ञहरुको भनाइ छ ।

अहिले काठमाडौंको बजार विदेशी सुन्तलाले ओगटेको छ । छिटपुटरुपमा पाइने नेपाली सुन्तला पनि कम गुणस्तरको छ । साना दाना र बोक्रा छोडाउनै नमिल्ने खालको सुन्तला मात्र बजारमा देख्न सकिन्छ ।

ठूला दाना भएको नेपाली उत्पादन खपत भइसकेकाले बजारमा विदेशबाट आयात गरिएको सुन्तलामात्र पाइन्छ । मंसिर र पुसमा मात्र नेपाली उत्पादन बजारमा आउने र त्यसपछि विदेशबाटै आयात गरिएकोमा भर पर्नुपर्ने सुन्तला व्यापारीहरु बताउँछन् ।

नेपालका ४२ जिल्लाको २८ हजार ९ सय ६० हेक्टर जमिनमा सुन्तला खेती हुने गरेको छ । गतवर्ष १ लाख ६५ हजार मेट्रिक टनभन्दा धेरै सुन्तला उत्पादन भएको थियो । यसवर्ष पनि सोही अनुपातमा सुन्तला उत्पादन भएको कृषि विभागले जनाएको छ ।

कृषिलाई आधुनिकीकरण गर्दै मुलुकलाई आत्मनिर्भरतातर्फ अघि बढाउने सरकारी नीति छ । तर, अत्यधिक माग हुने सुन्तलाको उत्पादन भने बढ्न सकेको छैन ।

भिडियो हेर्नुहोस्

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...