सीवाइसी अत्तरियासँग धनगढी स्टार्स पराजित

news

कैलाली, माघ २९ । धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको आजको खेलमा सीवाइसी अत्तरियाले धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको छ ।

फाप्ला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको सीवाइसी अत्तरियाले ५ विकेट गुमाउँदै ९५ रन बनायो । जवाफमा धनगढीले ९ विकेट गुमाइ ९० रनमात्रै बनाउन सक्यो ।

दुईपटकको च्याम्पियन धनगढीको यो लगातार दोस्रो हार हो । राजु रिजालले अविजित २६ रन बनाएपनि धनगढीलाई विजय दिलाउन सकेनन् ।

रोहन मुस्तफा १८, सन्दीप रजाइली र सोमपाल कामी ११ र १० रनमा आउट भए । अत्तरियाका भुवन कार्कीले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिए । त्यस्तै सन्नी पटेलले ४ ओभरमा १७ रन खर्चेर २ तथा कप्तान दीपेन्द्रसिंह ऐरी र दीपन्द्र रावतले १–१ विकेट लिए ।

सीवाइसीका सन्नी पटेलले २८ बलमा ३५ रन बनाइ अविजित रहे । जयकिसन कोल्सावालाले २१, प्रेम तामाङले १२ र कप्तान दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए ।

यस्तै बलिङतर्फ धनगढीका विदेशी खेलाडी रोहन मुस्तफाले २ विकेट लिए । सोमपाल कामी, विपिन खत्री र अमिर हायतले १÷१ विकेट लिए ।

धनगढी हिजो काठमाडौं गोल्डेन्ससँग ४ विकेटले पराजित भएको थियो ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया