उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

news

काठमाडौं, माघ २९ । राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।

आजको बैठकको विशेष समयमा भाग लिँदैै सांसद राधेश्याम अधिकारीले सरकारलाई आयोगले बुझाएको अन्तरिम र मूल प्रतिवेदनमा समेटिएका मूलभूत विषयवस्तुबारे सदनलाई जानकारी गराउन माग गरे । उनले सबैको सरोकारको विषय रहेको शिक्षालाई सरकारले गुमराहमा राख्नु आश्चर्यजनक भएको टिप्पणी गर्दै सरकार, शिक्षा मन्त्रालय र आयोगको मात्र विषयवस्तु नभएको हुँदा तत्काल सार्वजनिक गर्न माग गरे ।

बैठकमा सांसद शेरबहादुर कुँवरले हालैको वर्षासँगै अछाममा परेको चट्याङबाट मृत्यु भएका परिवारजन र घाइतेलाई तत्काल राहतको व्यवस्था गर्न माग गरे ।

सांसद प्रकाश स्नेहीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका विषयमा उठेका प्रश्नको न्यायिक छानबिन आवश्यक रहेको भन्दै डा.गोविन्द केसी १६ पटकसम्म अनशन बसेको समयमा उनको तलबभत्ता कसले बुझ्यो, त्यसको छानबिन गरी असुलउपर गर्न सुझाव दिए ।

सांसद उदय शर्मा पौडेलले पछिल्लो समयमा काठमाडौंको जमल, भृकुटीमण्डपलगायतका स्थानमा सार्वजनिक यातायातका सवारी साधन रोक्ने व्यवस्था नहुँदा सर्वसाधारणले निकै दुःख भोग्नुपरेकाले ती स्थानमा सहज व्यवस्था मिलाउन आग्रह गरे ।

यस्तै सांसद रमेशजङ्ग रायमाझीले वीरगञ्जस्थित विपी उद्यान (पार्क)लगायत नेताको नाममा खोलिएका अस्पताल, पुललगायतका संरचनाको निर्माण प्रभावित हुने कार्य नगर्न सरकारलाई सुझाव दिए ।

सांसद प्रमिला कुमारीले संघीयता कार्यान्वयन गर्न प्रहरी ऐन बनाउने कार्य केन्द्र सरकारले मात्र नगरी प्रदेश सरकारलाई नै जिम्मेवारी दिनुपर्नेमा जोड दिइन् ।

सांसद रामलखन चमारले शिक्षा मन्त्रालयले गरीब विद्यार्थीलाई पढ्नका लागि निर्ब्याजी ऋण पाउनेसम्बन्धी कार्यविधि नबनाउँदा धेरै बालबालिका पढ्नबाट वञ्चित भएको भन्दै आवश्यक व्यवस्था मिलाउन सुझाव दिए ।

सांसद रामनारायण बिडारीले त्रिभुवन राजमार्गको नौबिसेदेखि मकवानपुरको भँैसेसम्म सडक खाल्डैखाल्डा भएकोले यसमा विशेष ध्यान दिन सुझाव दिए ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदले उठाएको प्रश्नको जवाफ अर्को बैठकमा दिनका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...