प्रहरीलाई कसैको दबाब र प्रभावमा नपर्न प्रधानमन्त्रीको निर्देशन

news

काठमाडौं, माघ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीलाई कसैको दबाब र प्रभावमा नपर्न निर्देशन दिएका छन् ।

नेपाल प्रहरीले गरेको १७८ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रहरीलाई दलाली वा चाकडी नगर्न निर्देशन दिएका हुन् । उनले सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न प्रहरी अधिकारीहरुलाई सचेतसमेत गराए ।

प्रहरी भनेको दलाली वा दमन गर्नका लागि नभई कर्तव्य पालनाका लागि भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले प्रहरी नेतृत्वलाई कार्यसम्पादन मूल्यांकन र बढुवाका लागि न्यायोचित प्रणाली बनाउन निर्देशन दिए । प्रहरी जवानदेखि उच्च अधिकृत कसैले पनि अब संगठन भेदभावको अनुभूत गर्न नपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले राजनीतिक प्रभाव र दबाबमा परेर काम नगर्न निर्देशन दिए । उनले सरकारले सुरक्षालाई प्राथमिकता दिएकाले त्यसमा दृढ भएर लाग्न प्रहरी संगठनलाई निर्देशन दिँदै आवश्यक जुनसुकै सहयोग गर्न पनि सरकार तयार रहेको बताए ।

संगठनभित्रै कुनै विकृति र विसंगति देखिए त्यसविरुद्धसमेत लाग्न उनले सुझाव दिए ।

गृहमन्त्री थापाले प्रहरी संगठनको भरोसा गुम्न नदिन र लोभ लालचमा नपर्नसमेत निर्देशन दिए ।

कार्यक्रममा प्रहरी निरीक्षकको आधारभूत तालिम पूरा गरेका १२ महिला र ८३ पुरुषले पद तथा गोपनीयताको सपथ लिएका थिए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया