सरकार गतिहीन : पौडेल

news
फाइल तस्वीर ।

चितवन, माघ २९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कामबाट जनतामा निराशा छाएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले मंगलबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने–‘दुईतिहाइको कम्युनिष्ट सरकारले चुस्त–दुरुस्तरुपमा फटाफट काम गर्छ भन्ने जनताको अपेक्षा निराशामा परिणत भएको छ ।’

नेता पौडेलले वर्तमान सरकार गतिहीन देखिएको टिप्पणी पनि गरे ।

उनले भने–‘गतिविधि भन्नुपर्दा गति पनि छैन, विधि पनि छैन, मनलाग्दी गर्छ ।’

प्रतिपक्ष चुस्त हुँदै सरकारको कामको निगरानीमा लागेको नेता पौडेलले बताए ।

अर्को एक प्रसंगमा उनले पार्टीको केन्द्रीय समितिका पदाधिकारी र सदस्य वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने बताए ।

महासमितिले निर्णय गरिसकेको भन्दै उनले केही साथीले वडा तहबाट चुनाव लड्न किन जाने भनेको भएपनि त्यो सम्भावना नरहेको बताए ।

नेता पौडेलले नेपाल विद्यार्थी संघको केन्द्रीय समिति नरहेकाले पार्टीको विधानअनुसार नयाँ व्यवस्था गर्ने बताए ।

केन्द्रीय समितिले आफ्नो दायित्व पूरा गर्न नसकेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा विधानमा उल्लेख भएअनुसारको व्यवस्था गरिने धारणा व्यक्त गरे ।

नेता पौडेलले राजीनामा दिएका नेविसंघका केन्द्रीय समितिका पदाधिकारीले मनलाग्दी ढंगबाट कोही–कसैलाई पत्र लेखेर नियुक्त गर्न नसक्ने भन्दै पार्टीले लिने निर्णय नै अन्तिम हुने बताए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...