अदालतबाट अभियुक्त फरार

news

कैलाली, माघ २९ । बलात्कारको आरोपमा पक्राउ परेका एक अभियुक्त कैलाली जिल्ला अदालत परिसरबाट फरार भएका छन् ।

जबर्जस्ती करणी मुद्दामा म्याद थपका लागि अदालत लगिएका अभियुक्त मंगलबार दिउँसो फरार भएको प्रहरीले जनाएको छ ।

कैलालीको लम्कीचुहाका २३ वर्षीय दिल्प दमाइँलाई जिल्ला अदालतमा म्याद थपका लागि लगिएकामा उनी अदालत परिसरबाट हतकडी लगाएकै अवस्थामा फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लम्कीले सोमबार दमाइँलाई पक्राउ गरी प्रहरी नायव निरीक्षक जनक सिंहको नेतृत्वमा म्याद थपका लागि जिल्ला अदालत ल्याइएको थियो ।

अदालतमा फाइल पेस गर्नेक्रममा उनी हतकडी लगाएकै अवस्थामा भागेको प्रहरीले जनाएको छ ।

उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

अदालतबाट दिउँसो २ बजेतिर उनी भागेका हुन् । दमाइँको खोजीका लागि विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको र जिल्लाबाहिर निस्कने सीमामासमेत निगरानी बढाइएको प्रनाउ वलीले बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया