नेपाल प्रहरीसम्बन्धी विधेयकको सत्तारुढ दलकै सांसदहरुबाट विरोध

news

काठमाडौं, माघ २९ । सरकारले ल्याएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सन्चालन, सुपरीवेक्षण र समन्वय) विधेयकको सत्तारुढ दलकै सांसदहरुले विरोध गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी बनेको विधेयक–२०७५ माथि विचार गरियोस्’ भनी प्रस्तुत् गरेको विधेयकमाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्मा र नवराज सिलवालले विधेयक संघीयता र संविधानविरोधी भएको आरोप लगाए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह, भरत शाहलगायतले विधेयकको विरोध गर्दै सरकार संघीयता कमजोर पार्न लागेको पुष्टि भएको आरोप लगाए ।

तर, सत्तारुढ दल नेकपाका सांसद कृष्णभक्त पोखरेलले भने विधेयक संविधानको मर्मअनुसार नै आएको जिकिर गरे ।

सांसदहरुका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले प्रहरीको परिचालन प्रदेश सरकारले नै गर्ने र प्रमुख जिल्ला अधिकारीले समन्वयमात्र गर्ने बताए ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा लेखापरीक्षण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, केही नेपाल ऐन संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन र जीवनाशक विषादी व्यवस्थापन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस भएका छन् ।

यस्तै, बैठकले कर्मचारी समायोजन विधेयक, विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक र भू–उपयोग विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया