वीरगन्जमा सहिद पार्क बनाउन थालेपछि बढ्यो विवाद, को–के भन्छन् ? (भिडियो)

news

अनिल तिवारी (इमेज)

वीरगन्ज, माघ २९ । वीरगन्ज महानगरपालिकास्थित घन्टाघरको उत्तरपट्टि रहेको जग्गामा पूर्वसम्झौताविपरीत प्रदेश सरकारले सहिद पार्क बनाउन लागेपछि विवाद बढ्दै गएको छ ।

बीपी उद्यान निर्माणको प्रयोजनका लागि महानगरको स्वामित्वमा रहेको उक्त जग्गामा प्रदेश सरकारले हस्तक्षेप गरेपछि महानगर र प्रदेशबीचको विवाद चुलिँदै गएको हो ।

वीरगन्ज महानगरपािलकास्थित घन्टाघरबाट उत्तरतर्फ रहेको १० विगाहा जग्गामा प्रदेश नम्बर–२ सरकारले महानगरसँग समन्वय नै नगरी सहिद पार्क बनाउन शिलान्यास गरेपछि अहिले विरोध भइरहेको छ ।

वि.संं. २०६० साल कात्तिकमा तत्कालीन सरकारले नेपाल यातायात संस्थानको स्वामित्वमा रहेको उक्त जग्गालाई उपमहानगरको स्वामित्वमा हस्तान्तरण गरी बीपी उद्यान निर्माण गर्ने निर्णय गरेको थियो ।

त्यसलगत्तै महानगरपालिकाको स्वामित्वमा आएको उक्त जग्गाको लालपुर्जामा बेचबिखन, हक हस्तान्तरण गर्न नपाउने तथा बीपी उद्यानबाहेक अन्य कुनै प्रयोजनमा प्रयोग गर्न नपाइने उल्लेख छ ।

जसका लागि महानगरपालिकाले नेपाल यातायात संस्थानलाई १० करोड भुक्तानी पनि तिरेको थियो ।

तर, यही अवस्थामा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले गत माघ १६ गते सहिद पार्क निर्माणका लागि शिलान्यास गरे ।

यसलगत्तै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाउँदै विज्ञप्ति निकाल्यो र अहिले पनि यसको प्रतिवाद गरिरहेको छ ।

नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले बीपी उद्यानभित्रै सहिद पार्क बनाउन सकिने भन्दै यसलाई बेवास्ता गरिए कानुनी र राजनीतिक उपचार खोजिने धारणा राखे ।

पूर्वसहमति र सम्झौताको बेवास्ता गर्दै प्रदेश सरकारले सहिद पार्कको निर्माण गर्न थालेपछि महानगर पनि रुस्ट बनेको छ ।

जग्गाको प्रयोग बीपी उद्यानका लािग गरिने लालपुर्जामा उल्लेख भएपनि महानगरपालिकासँग कुनै सल्लाह नै नगरी प्रदेश सरकारले हस्तक्षेप गरेको महानगरका प्रशासकीय अधिकृत भीष्मकुमार भुसालको भनाइ छ ।

प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले मधेस आन्दोलनमा सहादत दिनेहरुको सम्मानस्वरुप सहिद पार्क निर्माण गर्न लागिएको दाबी गरे ।

जनताको भावनासँग मेल नखाने कानुन खारेज भएजस्तै यहाँ पनि पूर्वसम्झौता खारेज गर्दै सहिद पार्क निर्माण गर्न लागिएको उनको भनाइ छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...