यो हो बोधिसत्व ग्यालरी (भिडियो)

news

दीपक श्रेष्ठ र उत्तम मानन्धर (इमेज)

ललितपुर, माघ २९ । काठमाडौं उपत्यका मूर्तिकला र चित्रकलाका लागि विश्वमै प्रसिद्ध छ ।

नेपाली मौलिक कलालाई जीवित राख्न कलाकार, अनुसन्धाता, प्राज्ञ, व्यापारिहरु सक्रिय भएर लागिरहेका छन् । यसैको एउटा उदाहरण हो, बोधिसत्व ग्यालरी ।

ललितपुरको कुपन्डोलमा रहेको बोधिसत्व ग्यालरीमा विभिन्न कलाकारले निर्माण गरेका हेर्दा पुरातात्विक लाग्ने मूर्ति तथा चित्रहरु छन् ।

ग्यालरी अवलोकन गर्न आउने जो–कोहीले यसलाई कुनै व्यवस्थित संग्रहालय ठान्दछन् । तर, यो संग्रहालय होइन ।

पुरातात्विक महत्वका मूर्ति तथा चित्रहरु निर्माण गर्ने कलाकारिता अहिलेपनि जीवितै छ भनेर सन्देश दिन ग्यालरी निर्माण गरिएको सन्चालक अञ्जना शाक्य बताउँछिन् ।

ग्यालरीका मूर्ति तथा चित्रहरु बिक्रीका लागि निर्माण गरिएको भएपनि यहाँ कलाकारिताबारे जानकारी लिन चाहने देशी–विदेशी अध्येताहरु धेरै आउने गरेका छन् ।

अनुसन्धानकर्ताको धेरै चासो भएपछि बोधिसत्व ग्यालरीले गत माघ ३ देखि २६ गतेसम्म विभिन्न देवी–देवताका मूर्ति तथा पौभाचित्रको प्रदर्शनी नै आयोजना गरेको थियो ।

प्रदर्शनीमा १०० भन्दा बढी देवी–देवताका मूर्ति र सोही अनुपातमा चित्रहरु राखिएको थियो ।

प्रदर्शनीमा झन्डै ८०० भन्दा बढी अवलोकनकर्ताहरु सहभागी भएको शाक्यको भनाइ छ ।

ग्यालरीमा राखिएका मूर्तिहरु सबै तामाबाट बनेका र त्यसमा सुनको जलप लगाइएको छ ।

यी सबै मूर्ति तथा चित्रहरु नेपाली कलाकारले नै बनाएको र तीमध्ये ९९ प्रतिशत नेवार समुदायका कलाकार रहेको सन्चालक अन्जना शाक्य बताउँछिन् ।

नेपालमा बन्ने यस्ता मूर्ति तथा चित्रको स्वदेश एवं विदेशमा निकै माग रहेको छ ।

बौद्ध चिन्तनबाट अभिप्रेरित यी चित्र तथा मूर्तिहरु अधिकांश चीन, थाइल्यान्डलगायतका देशमा खपत हुने गरेका छन् ।

हेर्दा सुन्दर र लोभलाग्दो लाग्ने यी मूर्ति तथा चित्रहरु बनाउन भने उत्तिनै मिहिनेत र दुःख गर्नुपर्छ ।

चित्र बनाउन ३ देखि ४ महिना लाग्छ भने मूर्ति बनाउन ४ देखि ५ वर्ष लाग्ने कलाकारहरु बताउँछन् ।

विगत ३० वर्षदेखि यो पेसामा रहेका शाक्य पेसालाई व्यवस्थित बनाउन पहिलोपटक ग्यालरी स्थापना गरेको बताउँछिन् ।

यसलाई व्यापारभन्दा पनि मौलिक कलाको पहिचानलाई जिउँदो राख्ने अभियानकारुपमा बुझिदिन उनको आग्रह छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया