नेविसंघको कार्यसमिति भंग

news

काठमाडौं, माघ २९ । नेपाली कांग्रेसले आफ्नो भातृसंगठन नेपाल विद्यार्थी संघको कार्यसमिति भंग गरेको छ ।

मंगलबार सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमितिको कार्यकाल थप नगर्ने निर्णय गरेको हो ।

योसँगै नेविसंघ सभापति, पदाधिकारी र सदस्यबाट भएका सबै मनोनयन बदर भएको छ ।

बैठकले नेविसंघको महाविधेशन गर्न तदर्थ समिति बनाउने निर्णय पनि गरेको छ । तर, कसको नेतृत्वमा तदर्थ समिति बनाउने र समितिमा को–को रहने भन्ने विषय भने बैठकले टुंगो लगाएको छैन ।

यसअघि, नेविसंघका अध्यक्ष नैनसिंह महरले सोमबार पदबाट राजीनामा दिएका थिए ।

महर नेतृत्वको निर्वाचित कार्यसमितिको दुईवर्षे कार्यकाल गएको भदौ २ गते सकिएपनि महाधिवेशन गराउनका लागि तीन महिना समय थप गरिएको थियो ।

त्यस अवधिमा अधिवेशन नभएपछि मंसिर २ गते फेरि दुई महिनाका लागि समय थपिएपनि महाधिवेशन हुन सकेन ।

बैठकमा पार्टीको विधान अनुमोदन गर्ने विषयमा छलफल भएपनि कुनै टुंगोमा नपुगिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

चेतावनी

यसअघि, नेपाल विद्यार्थी संघका नेताहरुले विधानविपरीत ३२ वर्षभन्दामाथिका नेताको नेतृत्वमा तदर्थ समिति बनाए समानान्तर कमिटी बनाउने चेतावनी दिएका थिए ।

मंगलबार नेविसंघका केही नेताहरुले पार्टी सभापति शेरबहादुर देउवासहितका पार्टी पदाधिकारीहरुलाई केन्द्रीय समिति बैठकमा जानुअघि यस्तो चेतावनी दिएका हुन् ।

केन्द्रीय कार्यसमितिको बैठकमा प्रवेश गर्नुअघि सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायत नेताहरुलाई कार्यालयको मूलढोकामा नै विद्यार्थीहरुले रोकेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया