जनताको जलविद्युत्को पहिलो सेयर म किन्छु : प्रधानमन्त्री

news

काठमाडौं, फागुन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत् आयोजना कार्यक्रम’को शुभारम्भ गरेका छन् ।

बुधबारमात्र ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गरेका प्रधानमन्त्री ओलीले बिहीबार काठमाडौंमा ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयरधनी’ नारासहित अर्को कार्यक्रम शुभारम्भ गरेका हुन् ।

कार्यक्रम शुभारम्भ गर्दै उनले कार्यक्रमको पहिलो सेयर आफूले खरिद गर्ने घोषणा गरे ।

प्रधानमन्त्री ओलीले नेपाली जनताको निस्क्रिय रहेको पैसा जलविद्युत् क्षेत्रको विकासमा सदुपयोग गरी ‘सुखी नेपाली, समृद्ध नेपाल’को संकल्प पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

नेपालको समृद्धि र विकासका लागि आन्तरिक स्रोतको परिचालन र व्यवस्थापन नै महत्वपूर्ण भएको उल्लेख गर्दै उनले अपुग भएको पैसामात्रै विदेशी संस्थाबाट भित्र्याइने पनि बताए ।

आगामी १० वर्षभित्र मुलुकले काँचुली फेर्ने प्रधानमन्त्री ओलीले दाबी गरे ।

कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुनले राष्ट्रिय संकल्प पूरा गर्ने लक्ष्यका साथ सबै नेपालीलाई धनी बनाउन योजना ल्याइएको बताए ।

जनताको जलविद्युत् आयोजना कार्यक्रम सुरु भएको ३५ दिनभित्र सबै नेपालीले सेयर खरिद गर्नसक्ने छन् ।

कार्यक्रमअन्तर्गत् १९ ओटा आयोजनाबाट ३ हजार ४७९ मेगावाट विद्युत् उत्पादन हुने जनाइएको छ ।

यी आयोजनामा ६ खर्ब ९५ अर्ब रुपैयाँ बढी लगानी हुनेछ ।

आयोजनामा सार्वजनिक निकायको ५१ प्रतिशत र बाँकी सर्वसाधारणको लगानी रहनेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...