नेपाली राष्ट्रिय महिला क्रिकेट टोली थाइल्यान्ड प्रस्थान

news
तस्वीरः रोशन सापकोटा/रासस ।

काठमाडौं, फागुन ४ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) महिला विश्वकपअन्तर्गत् एसिया क्षेत्रको छनोट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली शनिबार थाइल्यान्ड प्रस्थान गरेको छ ।

यही फागुन ४ देखि १५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको शुक्रबार घोषणा गरिएको थियो ।

नेपाली टोलीमा रुबिनासहित सीता रानामगर (उपकप्तान), सरिता मगर, नेरी थापा, इन्दु वर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, अप्सारा बेगम, ममताकुमारी चौधरी र विन्दु रावल छन् ।

टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन् भने सहायक प्रशिक्षकमा नीरा राजोपाध्याय थाइल्यान्ड प्रस्थान गरेका छन् ।

७ टोली सहभागी उक्त छनोट प्रतियोगितको आफ्नो पहिलो खेल नेपालले यही फागुन ७ गते मलेसियासँग खेल्नेछ ।

दोस्रो खेल फागुन ९ गते थाइल्यान्डसँग, १० गते संयुक्त अरब इमिरेट्स (युएई), फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

‘राउन्ड रोबिन’को आधारमा हुने छनोटको विजेता आइसीसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा छानिनेछ ।

नेपाली टोलीलाई शनिबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट र पुरुष क्रिकेट टोलीका प्रशिक्षक जगट टमाटालगायतले जितको शुभकामनासहित बिदाइ गरे ।

सो अवसरमा सदस्यसचिव विष्टले महिला क्रिकेट खेलाडीको तलब–भत्ताका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीसँग प्रस्ताव गर्ने बताए ।

‘महिला क्रिकेटरको तलब सुविधाका लागि आइसीसीसँग यसै साता कुरा गर्नेछु’–उनले भने ।

महिला फुटबलले प्राप्त गरेको नतिजाको उदाहरण दिँदै उनले छनोट खेलमा उच्च मनोबलका साथ मैदान उत्रन आग्रह गरे ।

कार्यक्रममा महिला क्रिकेटका मुख्य प्रशिक्षक विनोद दास र कप्तान रुबिना क्षेत्रीले प्रशिक्षण राम्रो भएकाले नेपालको लक्ष्य छनोट हुने रहेको बताए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...