‘गुट–उपगुटले कांग्रेस कमजोर’

news
तस्वीरः विजयकुमार महतो/रासस ।

पर्सा, फागुन ४ । नेपाली कांग्रेसभित्रको गुट–उपगुटले पार्टीलाई कमजोर बनाएको कांग्रेसका नेताहरुले धारणा व्यक्त गरेका छन् ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शनिबार वीरगन्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नेताहरुले पार्टीभित्रको गुट–उपगुटलाई समाप्त नपारे संघीयता नै धरापमा पर्ने खतरा उत्पन्न भएको विचार व्यक्त गरे ।

जीपी फाउन्डेसन पर्साको कार्यालय उद्घाटन तथा फोटो प्रदर्शनी कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको गुट–उपगुटले कांग्रेसलाई कमजोर बनाएकाले जनताका मुद्दामा संघर्ष गर्नका लागि पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जीपी फाउन्डेसनकी केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले स्व. गिरिजाप्रसाद कोइरालाले राखेको संसद पुनःस्थापनाको जगले नै राष्ट्रलाई निकास दिएको तथ्यलाई कसैले पनि बिर्सिन नहुने चर्चा गरिन् ।

उनले जीपी कोइराला फाउन्डेसनले देशभरि सामाजिक कार्यमात्र गर्ने जानकारी दिइन् ।

जीपी कोइराला फाउन्डेसन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसका नेताहरुभित्र अहिले नैतिकता र संस्कारको कमी भएको धारणा व्यक्त गरे ।

‘नैतिकता नभएका व्यक्तिले राजनीतिक गर्नु नै सामाजिक अपराध हो र नैतिकता तथा संस्कारको कमी नेपाली कांग्रेस पार्टीभित्र देखिएको छ’–उनले भने ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, अफताब आलम, अजयकुमार चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरीलगायतका वक्ताले मुलुकमा बढ्दै गएको महँगी, हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारले नेपाली जनता मारमा परे पनि सरकारले केही नगरेको आरोप लगाए ।

सो अवसरमा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका पाँचजना व्यक्तिलाई महामन्त्री डा. कोइरालाले दोसल्ला ओढाइ सम्मान गरेका थिए ।

स्व. गिरिजाप्रसाद कोइरालाको जीवनका महत्वपूर्ण घटनालाई दर्शाउने तस्वीरहरुलाई कार्यक्रममा प्रदर्शित गरिएको थियो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया