महाशिवरात्रिको तयारी सुरु

news
फाइल तस्वीर ।

काठमाडौं, फागुन ७ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ ।

महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले ८ उपसमितिको गठन गरी तयारी अघि बढाएको सदस्यसचिव डा. प्रदीप ढकालले राससलाई जानकारी दिए ।

कोषाध्यक्ष डा. मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा/दर्शन व्यवस्था, कोष सन्चालक परिषद सदस्य भगवतीप्रसाद देवको संयोकत्वमा चन्दन मन्दिर प्रांगण तथा रात्रिकालीन व्यवस्था र स्वयंसेवा परिचालन अनुगमन तथा पास व्यवस्था उपसमितिको गठन गरिएको छ ।

यसैगरी, परिषद सदस्य राजुकुमार खत्रीको संयोजकत्वमा आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था र लाइट तथा साजसजावट, परिषद सदस्य रमेशराज शिवाकोटीको संयोजकत्वमा साधुसन्त सेवा एवं धार्मिक कार्यक्रम, परिषद सदस्य ध्रुव उप्रेतीको संयोजकत्वमा स्वास्थ्य, वातावरण, सरसफाइ तथा जुत्ता–चप्पल व्यवस्था, परिषद सदस्य घनश्याम उपाध्यायको संयोजकत्वमा प्रचार–प्रसार व्यवस्था उपसमिति गठन भएको छ ।

तयारीकाक्रममा रङरोगन, बत्ती व्यवस्था, सुरक्षालगायतको तयारी तीव्ररुपमा अघि बढेको छ ।

महाशिवरात्रिका लागि साधुसन्त आउनेक्रम पनि सुरु भइसकेको कोषले जनाएको छ ।

यस वर्ष पर्वका अवसरमा ११ लाखभन्दा बढीले मूल मन्दिरभित्रै प्रवेश गरेर पूजाआजा एवं दर्शन गर्नेगरी तयारी गरिएको छ ।

यस वर्ष भारतबाट धार्मिक पर्यटक बढी आउने अनुमान गरिएको छ । इलाहावादस्थित प्रयागराजमा भएको कुम्भमेलालगत्तै महाशिवरात्रि परेकाले भारतीय पर्यटक बढ्ने कोषले जनाएको छ ।

कुम्भमा स्नान गरी मेला भरेका दर्शनार्थीले एउटा दिव्य शिवलिंगको दर्शन गर्नुपर्ने धार्मिक मान्यताका कारण भारतीयको संख्या बढ्नेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्ष दुईपटक पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा गरेपछि भारतको विभिन्न प्रान्तका भक्तजनको मन्दिरमा भीड लागेको सदस्यसचिव ढकालले बताए ।

गत वर्षको महाशिवरात्रिदेखि पशुपति क्षेत्र विकास कोषले सुरु गरेको सहयोग अपेक्षारहित क्षेत्र बनाउने अभियानलाई यस वर्ष काठमाडौं जिल्लाव्यापी बनाइएको छ ।

पशुपति क्षेत्रमा सोचेभन्दा राम्रो सफलता प्राप्त भएपछि नेपाल प्रहरी, काठमाडौं महानगरपालिका, मानव सेवा आश्रमलगायत सामाजिक संस्थाको सहकार्यमा जिल्लाव्यापी बनाइएको उनले जानकारी दिए ।

यस वर्ष फागुन २० गते सोमबार महाशिवरात्रि पर्व परेको छ ।

पर्वको एक महिनाअघिदेखि नै भारतलगायत विभिन्न देशका धार्मिक पर्यटक पशुपतिनाथ मन्दिरमा आउने गर्छन् ।

पर्वका लागि तीनओटै सुरक्षा निकायको संयोजनमा पशुपति क्षेत्रमा सुरक्षाको प्रबन्ध गरिएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया