तत्कालीन ‘एलडीओ’ रायमाझीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

news

काठमाडौं, फागुन ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यान, बागचौर नगरपालिका–५, बांगेलाकुरीबजारमा विद्युत्लाइन तान्ने कार्यमा रु १० लाख बराबरको भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन स्थानीय विकास अधिकारीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सांसद विकास कोषबाट रु १० लाख र साबिक शिवरथ गाविसबाट रु पाँच लाख गरी कुल १५ लाख बजेट प्राप्त भएकामा रु पाँच लाखकोमात्रै पोल गाडी रु १० लाख भ्रष्टाचार गरेको आयोगको आरोप छ ।

आयोगले तत्कालीन स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझी, प्रमुख जिल्ला इन्जिनियर जगदीश शर्मा, उपभोक्ता समितिका तत्कालीन अध्यक्ष इन्द्रबहादुर भण्डारी, सचिव वीरेन्द्र ओली र कोषाध्यक्ष त्रिपुरा वलीलगायत १८ जनाले फर्जी कागज बनाइ हिनामिना गरेको पाइएको अध्ययनबाट देखिएको उल्लेख गरेको छ ।

उपभोक्ता समितिले २३ थान १० एमएम र ४६ थान ८ एमएम गरी कुल ६९ थान विद्युत्पोल निर्माण योजनामा प्रयोग गर्नुपर्नेमा ३० थान ८ एमएमको पोलमात्र प्रयोग गरी भुक्तानी दिएको पाइएको छ ।

भुक्तानीका लागि गलत कागजात बनाइ सरकारी सम्पत्तिको दुरुपयोग गरेको पाइएकाले भ्रष्टाचारको मुद्दा दायर गरिएको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

यस्तै, आयोगले जिल्ला मालपोत कार्यालय इनरुवामा जग्गा किनबेच गर्दा लाग्ने राजश्वभन्दा रु ४५ लाख कम रकम लिइ लेखापढी व्यवसायीकोसमेत मिलेमतोमा राजश्व छली गरेको अभियोगमा जग्गाधनीसहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले जग्गाधनी कुन्तादेवी श्रेष्ठ, जग्गा खरिदकर्ता पद्मा कोलोनीका अध्यक्ष राजुप्रसाद कँडेल, नापी सर्वेक्षक अमरकुमार झासँग मिलेमतो गरेको पाइएको जनाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...