पिंकाथन काठमाडौंको उपाधि सशस्त्र प्रहरीकी कान्छीमाया कोजुलाई

news

काठमाडौं, फागुन ११ । पिंकाथन काठमाडौंको तेस्रो संस्करणको उपाधि सशस्त्र प्रहरीकी कान्छीमाया कोजुले जितेकी छन् ।

यसपटक पनि मुख्य प्रतिस्पर्धा हाफ म्याराथनमा सशस्त्र प्रहरीकी कान्छीमाया कोजु विजयी भएकी हुन् । एपीएफकी धाविका कान्छीमायाले निर्धारित दूरी १ घण्टा २१ मिनेट ४४ सेकेण्डमा सकाउँदै लगातार तेस्रो पटक पिंकाथन हाफ म्यारथनको उपाधि जितेकी हुन् ।

यो स्पर्धामा नेपाल प्रहरीकी राजपूरा पछाई दोस्रो भईन् भने एपीएफकी पुष्पा भण्डारी तेस्रो भईन् । हाफ म्याराथनमा प्रथम हुनेले ५१ हजार नगद पुरस्कार जित्दा दोस्रो हुनेले ३१ हजार तथा तेस्रो हुनेले २१ हजार नगद पुरस्कार हात पारे ।

यसैगरी १० किलोमिटरतर्फ एपीएफकी सन्तोषी श्रेष्ठ प्रथम हुँदा चन्द्रा राउत दोस्रो तथा सरस्वती कडायत तेस्रो भए । यो स्पर्धाका विजेताले ३१ हजार, दोस्रो हुनेले २१ हजार तथा तेस्रो हुनेले ११ हजार नगद पुरस्कार हात पारे ।

५ किलोमिटरतर्फ सामना कार्कीले प्रथम हुँदै ११ हजार नगद पुरस्कार जितिन् । यसैगरी फूलमती राना दोस्रो भईन् भने काजल विष्ट तेस्रो भईन् ।

३ किलोमिटर दौडमा सानुका थापा प्रथम हुँदा स्वस्तीका श्रेष्ठ दोस्रो तथा प्रतिमा कार्की तेस्रो भए । विजेता खेलाडीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित बलिउड सुपर मोडल मिलिन्द सोमन, नेपाल ओलम्पिक कमिटीका उपमहासचिव राजिव श्रेष्ठलगायतका अतिथीले पुरस्कार वितरण गरे ।

महिला सशक्तीकरण र स्वास्थ्यप्रति जनचेतना जगाउने उद्देश्यले भारतीय सुपर मोडेल, फिटनेस गुरु तथा बलिउड अभिनेता मिलिन्द सोमनले पिंकाथन अभियान सुरु गरेका हुन् । नेपालमा लेजर पोर्ट नेपालले विगत तीन वर्षदेखि यो ईभेन्ट गर्दै आएको छ ।

पिंकाथन काठमाडौंको यो तेस्रो संस्करणमा झण्डै २५ सय महिला सहभागी रहेको आयोजकले जनाएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया