कांग्रेसमा किचलो: आफूअनुकूल विधान बनाउने नेताहरुको रणनीतिले समस्या

news

अक्कल कुँवर र भरत केसी (इमेज)

काठमाडौं, फागुन ११ । नेपाली कांग्रेसले महासमिति बैठक सकिएको दुई महिना बितिसक्दा पनि विधान अनुमोदन गर्न सकेको छैन ।

पार्टीभित्रको आन्तरिक झगडा र महाधिवेशनबाट नेतृत्वमा पुग्नका लागि आफूअनुकूल विधान बनाउने नेताहरुको कसरतले विधान अनुमोदन हुन नसकेको हो ।

विधान टुंगो लगाउन बिहीबार बोलाइएको बैठक सहमति हुन नसकेपछि बस्दै नबसी स्थगित भयो । अर्को बैठक आइतबारका लागि बोलाइएको छ ।

कांग्रेस नेताहरुले महासमिति बैठकपछि पार्टीभित्रको विवाद अन्त्य भएको दाबी गरेपनि यो दिन–प्रतिदिन बढ्दै गएको छ ।

यही विवादका कारण महासमिति बैठकबाट सर्वसम्मत् अनुमोदन भएको पार्टीको विधान केन्द्रीय समितिबाट अनुमोदन हुन सकेको छैन ।

आगामी महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्ने नेताहरुको कसरतले विधानको मूल मुद्दामै विवाद भएको छ ।

विधान टुंगो लगाउन शीर्ष नेताहरुबीच पटक–पटक अनौपचारिक छलफल भएपनि गुटगत स्वार्थ छोड्न नसक्दा सहमति जुट्न सकेको छैन ।

कांग्रेसभित्र पार्टी विधानमा स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने प्रावधान राख्ने कि नराख्ने विषयमा मुख्य विवाद छ ।

संस्थापन पक्ष पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई स्वतः महाधिवेशन र क्षेत्रिय प्रतिनिधि बन्न पाउने प्रावधान राख्ने पक्षमा छ भने संस्थापनइतर महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्न बुथबाटै निर्वाचित हुनुपर्ने प्रावधान राख्नुपर्ने अडानमा छ ।

तर, सहमहामन्त्री डा. प्रकाशशरण महत विधानलाई सर्वसम्मत् अनुमोदन गर्ने प्रयासका कारण ढिलाइ भएको जिकिर गर्छन् ।

उता, संस्थापनइतर पक्षका नेता नवीन्द्रराज जोशीले महासमितिले दिएको ‘म्यान्डेट’बाट संस्थापन पक्ष पछि हटेकाले विधान अनुमोदनमा ढिलाइ भइरहेको जिकिर गर्छन् ।

विधानमात्र होइन, आन्तरिक किचलोका कारण पार्टीलाई जीवन्त राख्न तत्काल गर्नुपर्ने निर्णय गर्नबाटसमेत कांग्रेस अहिले चुकिरहेको छ ।

कार्यकर्तामाझ ‘पानीमाथिको ओभानो’ बन्न खोजेपनि आफ्नो गुट बलियो बनाउनमै नेताहरु सक्रिय छन् ।

विधान अनुमोदनका लागि माघ १० गतेबाट बस्दै आएको केन्द्रीय समिति बैठक विवादकै कारण पटक–पटक स्थगित हुँदै आएको छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...