नियमविपरीत क्रसर उद्योगमा जनप्रतिनिधि नै संलग्न(भिडियो)

news

-रवीन भट्टराई/ईमेज

झापा । झापा र इलामको सीमामा पर्ने चुरे निषेधित क्षेत्र र नदी आसपासका क्षेत्रमा मापदण्डविपरित क्रसर उद्योग संचालनमा रहेको पाइएको छ ।

नियम कानुन तोडेर यस्ता अवैध धन्दा चलाउने कार्यमा जनप्रतिनिधि आफैं संलग्न भएपछि भने गम्भीर प्रश्न उब्जेको छ ।

चुरे क्षेत्रको संरक्षण र यसमाथिको दोहन नियन्त्रणका लागि सरकारले गुरुयोजना नै तयार पारिसकेको छ ।

तर झापाको अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा भने गुरुयोजनाकै उपहास हुने गरी विकासका नाममा विरिङ्ग नदीमाथि दोहन भइरहेको छ ।

नदीको पश्चिमतर्फ अर्जुनधारा १ र पूर्वतर्फ बुद्धशान्ति गाउँपालिका १ अन्तर्गतको करिब डेढ किलोमिटर क्षेत्रभित्र नदीजन्य सामग्री उत्खनन् गर्न नपाइने भनेर तोकिएको छ ।

चुरे निषेधित क्षेत्रमै कुमार आशीष जेभीले क्रसर उद्योग स्थापना गरेर नदी दोहन गरेको  जिल्ला अनुगमन तथा समन्वय समिति झापाको टोलीले फेला पारेको छ ।

वडाध्यक्षको सिफारिसकै आधारमा निषेधित क्षेत्रमा क्रसर उद्योग सञ्चालन गरेपछि तत्काल बन्द गर्न निर्देशन दिएको समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताए ।

चुरे निषेधित क्षेत्रमा गिट्टी, बालुवा, ढुंगा उत्खननका लागि प्रयोग गरिने स्काभेटर र जेसीभी मेसिन लुकाएर राखेको टोलीले  अनुगमन टोलीले फेला पारेको थियो ।

खेतमै राखिएको जेसीभीले नदी उत्खनन गर्दै आइरहेको स्थानीय बताउँछन् ।

अनुगमन टोली आउने खबर पाएलगतै स्काभेटर र जेसीभी चालक वेपत्ता भएको र सशस्त्र प्रहरी र नेपाल प्रहरीले ती सवारीसाधन नियन्त्रणमा लिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताए ।

उता अर्जुनधारा नगरपालिकामा– १ नम्बर वडाका सदस्य माधव आचार्यको जेसिभी मेसिनले निषेधित क्षेत्रमा नदीजन्य सामग्री उत्खनन गरिरहेको अनुगमन टोलीले भेट्याएको थियो ।

वातावरणीय मूल्यांकन प्रतिवेदनको धज्जी उडाउँदै विरीङ्ग नदीमा उत्खनन गरिरहेको अवस्थामा अनुगमन टोली पुगेपछि उपभोक्ता समितिमा आबद्ध केही व्यक्ति अनुगमन टोलीमाथि नै जाइलागेका थिए ।

यस्ता अवैध हर्कतको उत्खनन गर्नुको साटो जनप्रतिनिधि नै संलग्न भएपछि यसले गम्भीर प्रश्न उठाएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया