पोखरा विमानस्थलको निर्माण ३० प्रतिशत सकियो (तस्वीर/भिडियो)

news

प्रदीप पौडेल (इमेज)

पोखरा, फागुन ३० । पर्यटकीय नगरी पोखराको राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य ३० प्रतिशत सकिएको छ ।

काम सुरु भएको १४ महिनामा विमानस्थलको निर्माणकार्य तीव्ररुपमा भएपनि कडा चट्टान फुटाउन आवश्यक विस्फोटक पदार्थको प्रक्रियाका कारण समय खर्चनुपरेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मी बताउँछन् ।

सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भएपनि तोकिएको समयसीमाभन्दा ६ महिनाअघि नै सक्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ ।

अहिले विमानस्थलको रनवे, टर्मिनल भवन, एप्रोन, ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङ्गर निर्माण, जमिन सम्याउनेलगायतका कामहरु भइरहेका छन् ।

१४ महिनामा सबैभन्दा धेरै समय लाग्ने महत्वपूर्ण ३० प्रतिशतभन्दा धेरै काम सम्पन्न भइसकेकाले समयसीमाभन्दा छिट्टै विमानस्थल निर्माणको काम सम्पन्न हुने विमानस्थल आयोजनाका प्रमुख मुनंकर्मी बताउँछन् ।

विमानस्थलमा चिनियाँ २०० र नेपाली २५० जना गरी ४५० जनाले दैनिक काम गरिरहेका छन् ।

विमानस्थल निर्माण छिटो सम्पन्न गर्ने नाममा ‘क्वालिटीमा कम्प्रोमाइज’ भने नहुने निर्माण कम्पनीले जनाएको छ ।

सन् २०१७ को नोभेम्बरदेखि विमानस्थलको निर्माण सुरू भएको हो ।

सन् २०१९ भित्र ६० प्रतिशतभन्दा बढी काम सकिने र सन् २०२० भित्र बाँकी सबै काम सकिने आयोजनाले जनाएको छ ।

अहिले धावनमार्गको तेस्रो चरणको काम अन्तिम अवस्थामा पुगेको छ ।

१४ हजार वर्गमिटरमा बन्ने टर्मिनलको काम पनि धमाधम भइरहेको आयोजनाले जनाएको छ ।

टर्मिनल भवनको क्षमता वार्षिक पाँच लाख यात्री रहेको छ ।

८ हजार वर्गमिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार वर्गमिटर आन्तरिक उडानका लागि गरी १४ हजार वर्गमिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो ।

‘आइकाओ’को मापदन्डअनुसार चीन सरकारको करिब २२ अर्ब रुपैयाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको हो ।

भिडियो हेर्नुहोस्

तस्वीर हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...