नेत्रविक्रम नेकपालाई ३५ दिनभित्र हतियार बुझाउन समयसीमा

news
फाइल तस्वीर ।

काठमाडौं, फागुन ३० । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ ।

मन्त्रिपरिषदका पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र छलफलका लागि सरकार सदैव तयार रहेको स्पस्ट गरे ।

सो समूहले आपराधिक र हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले उसका त्यस्ता गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सन्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भने–‘यसका लागि रातो कार्पेट ओछ्याएरै बिन्ती गर्छौैं । तर, उहाँहरुको अडान हेर्दा त्यस्तो देखिएन र सरकार यो निर्णयमा पुगेको हो ।’

उनले वार्ताका लागि पटक–पटक तयार भएपनि वार्तामा नआएको सो समूहका गतिविधिलाई सरकारले सूक्ष्मरुपमा अध्ययन गरी त्यसका आधारमा पार्टीलाई नभइ समूहका हिंसात्मक र संगठित प्रकारका आपराधिक र संविधानविरीतका गतिविधिलाई प्रतिबन्ध लगाइएको स्पस्ट गरे ।

प्रमुख प्रतिपक्षी दलले पनि सरकारको यो निर्णयलाई स्वागत गरिसकेको अवस्थामा सत्तारुढ पार्टीभित्र यसबारे छलफल भएको र थप छलफल हुने पनि जानकारी दिए ।

सो समूहले बिहीबार नेपाल बन्द आह्वान गरेको थियो ।

एक प्रश्नको जवाफमा मन्त्री बाँस्कोटाले सरकार र चन्द्रकान्त (सीके) राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसँग गरिएको सहमतिमा उल्लेखित जनअभिमतको विधि प्रयोग गरिने भनिनुको अर्थ निर्वाचनबाट जनताले अभिव्यक्त गर्ने मत भएको जनाए ।

उनले भने–‘सीके राउत मूलधारमा आउनुभयो । सरकारले स्वागत गर्‍यो । भोलि विप्लव समूहपनि आएमा सरकारले स्वागत गर्छ ।’ रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया