यी हुन् मिर्गौला रोगका लक्षण

news

प्रज्ञा तिमल्सिना, शंकर खनाल र लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, फागुन ३० । ‘स्वस्थ मिर्गौला सबैका लागि सबै ठाउँमा’ भन्ने नारासहित विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपालमा हाल ३० लाख मानिसमा कुनै न कुनै किसिमको मिर्गौलाको समस्या छ भने वार्षिक तीन हजार नयाँ बिरामी थपिने गरेका छन् ।

शरीरमा उत्पन्न हुने दूषित पदार्थ र बढी भएको पानी पिसाबको माध्यमबाट बाहिर फाल्ने, रक्तचाप सन्तुलनमा राख्ने, रगत बनाउन मद्दत पुर्‍याउने र हाडलाई स्वस्थ बनाउने काम मिर्गौलाको हो ।

तर, अस्वस्थ जीवनशैली र खानपानका कारण मिर्गौलामा समस्या देखिन थाल्छ ।

मधुमेह, उच्च रक्तचाप, प्रोटिनयुक्त खानाको अत्यधिक प्रयोग, जथाभावी औषधिको सेवन, बढी तौल र वंशाणुगतजस्ता कारणले मिर्गौला रोग लाग्छ ।

मिर्गौला बिग्रँदै गएको धेरैलाई जानकारीसमेत नहुन सक्छ । यसैले समय–समयमा मिर्गौला परीक्षण गर्ने र जीवनशैलीलाई लिएर सचेत हुने हो भने मिर्गौला रोगबाट बच्च सकिने मिर्गौला रोग विशेषज्ञ डा. नविन बस्नेतको भनाइ छ ।

हिँड्दा अत्यधिक थकान महसुस हुने, धेरैपटक पिसाब लाग्ने, पिसाब धमिलो वा रातो हुने, कोखा दुख्ने, बारम्बार ज्वरो आउनेजस्ता मिर्गौला रोगका लक्षण हुन् । यसको उपचार भनेको डायलासिस वा प्रत्यारोपण नै हो ।

सरकारले मिर्गौला रोगीहरुका लागि आजीवन डायलासिस सेवा र प्रत्यारोपण निःशुल्क गर्ने व्यवस्था मिलाएको छ ।

तर, सबै अस्पतालमा यी सेवा उपलब्ध नभएका कारण बिरामीहरु काठमाडौंमै धाउनुपर्ने बाध्यता छ ।

जसका कारण आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई उपचार सहज हुन नसकेको मिर्गौला रोग विशेषज्ञ डा. वीरेन्द्रप्रसाद यादवले बताए ।

मिर्गौला ‘फेल’ भएकामध्ये हाल १० प्रतिशतलेमात्र उपचार पाएका छन् । मिर्गौला प्रत्यारोपण नै मिर्गौला रोगको प्रमुख उपचार हो ।

तर, प्रत्यारोपणपछि पनि बिरामीले जिन्दगीभर औषधि भने सेवन गर्नुपर्छ । दैनिक दुईदेखि तीन लिटरसम्म पानी पिउने, स्वस्थकर खाना खाने, रक्तचाप ठीक राख्ने, औषधिको जथाभावी सेवन नगर्ने र नुनको कम प्रयोग गर्दा पनि मिर्गौला रोगबाट बच्न सकिन्छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया