९ महिनापछि बल्ल खुल्यो सडक

news

रसुवा, चैत १ । वर्षाको समयमा पहिरो खसेर अवरुद्ध भएको रसुवाको मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक ९ महिनापछि सञ्चालनमा आएको छ ।

गल्छी–त्रिशुली–स्याफ्रुबेसी सडक आयोजनाले सडकमा खसेका ठूला चट्टान तथा पहिरो हटाउन लामो समय लगाएपछि बल्ल सडक सञ्चालनमा आएको हो । आयोजनाले स्तरोन्नतिको कामसमेत अगाडि बढाउँदै विस्तृत परियोजना प्रतिवेदन संशोधन गर्नु परेकाले सडक खुलाउन ढिलाइ भएको जनाएको छ ।

त्यस्तै, मैलुङ–स्याफ्रुबेसी सडकमा झरेका ढुंगा ब्लास्टिङका लागि समयमै अनुमति नपाउँदा पनि काममा ढिलाई भएको आयोजनाका प्रमुख सुवोधकुमार देवकोटाले बताए । सडक सुचारु भए पनि तत्कालका लागि साना तथा हलुका सवारीमात्र सञ्चालन गरिने बताइएको छ ।

२०७२ साल बैशाख १ गतेदेखि निर्माणको काम सुरु भएको सडकको गत जेठ ६ गते ट्रयाक खोल्ने कार्य सम्पन्न भएको थियो । ट्रयाक खोलेपछि केही दिन सवारी सञ्चालनका लागि अनुमति दिइएको थियो । यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो ।

राष्ट्रिय योजना आयोगको मध्यकालीन खर्च संरचनामा आर्थिक वर्ष २०६१/६२ सालदेखि निर्माण सुरु भएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना २०७५÷७६ भित्र निर्माण तथा स्तरोन्नति हुने उल्लेख छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...