बैंकमा पुगेर पहिलो पटक तलब लिए राउटेले

news

सुर्खेत, चैत १ । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका सुर्खेतका लोपोन्मुख राउटे जातीका केही सदस्यले पहिलो पटक आफ्नो तलब बुझेका छन् ।

राउटे समुदायको उत्थानका लागि क्रियाशील सामाजिक सेवा केन्द्रको कार्यक्रमलाई सहयोग गरेबापत पाँच जना राउटेले पहिलो महिनाको पारिश्रमिक बुझेका हुन् । लेकबेसीमा बस्दै आएका उनीहरुलाई गाडीबाट वीरेन्द्रनगरमा ल्याएपछि बैंकमार्फत पहिलो महिनाको पारिश्रमिक दिइएको हो ।

आधुनिक समाजसँग नजिक्याउन लागू भएको सामाजिकीकरण कार्यक्रममा सहयोग गरेको भन्दै मासिक तलब दिन थालिएको सोसेक दैलेखका अध्यक्ष हिरासिंह थापाले जानकारी दिए ।

राउटेका मुख्य मुखिया सूर्यनारायण शाहीले एक महिनाको दुई हजार रुपैयाँ पारिश्रमिक बुझेका छन् भने अन्य चारजना सहायक मुखियाहरुले प्रतिव्यक्ति एक हजार पाँच सयका दरले पारिश्रमिक बुझेका छन् ।

पहिलो तलब पाएपछि राउटे मुखिया जीतबहादुर शाहीले सरकारले दिने भत्ताबाहेक तलब पाउने गरी काम नगरे पनि पहिलो पटक बैंकमै आएर तलब बुझ्दा खुसी लागेको बताए ।

सबै कुरा एकै पटक परिवर्तन सम्भव नभए पनि विस्तारै आफ्नो समुदाय पनि सामान्य मानिससरह जीवन बिताउने शाहीले बताए । ४५ दिनभन्दा धेरै एकै ठाउँमा नबस्ने राउटेले गर्मीयाम सुरु भएपछि पुनः अर्को ठाउँमा बसाई सर्ने तयारी गरिरहेका छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया