मन्त्री यादवले गरे आफ्नै सरकारको कार्यशैलीको आलोचना

news

काठमाडौं, चैत १ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले आफ्नै सरकारको कार्यशैलीको आलोचना गरेका छन् ।

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा शुक्रबार काठमाडौंमा गरिएको कार्यक्रममा उनले ‘नुन चोर्नेलाई थुन्ने र सुन चोर्नेलाई छाड्ने’ सरकारको व्यवहार आफूलाई चित्त नबुझेको बताए ।

उनले सरकारले कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने पनि बताए ।

उपभोक्ताको अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री यादवले उपभोक्ताको हितलाई ध्यानमा राखेर सरकारले नियमित बजार अनुगमनको व्यवस्था मिलाएको जानकारी दिए ।

उनले आफ्नो अधिकार संरक्षणका लागि उपभोक्ता आफैं जागरुक हुनुपर्नेमा पनि जोड दिए ।

उनले आफूले खरिद गर्ने सामानको मूल्य, गुणस्तर र परिमाण उचित भए÷नभएको हेर्नपनि आग्रह गरे ।

मन्त्री यादवले उपभोक्ताको अधिकार कटौती भए सरकारले उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्ने स्पस्ट पारे ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाइँले उपभोक्ताको अधिकार संरक्षण गर्न सरकार उदासीन भएको आरोप लगाए ।

उनले सरकार र उपभोक्ता अधिकारकर्मीबीच समन्वयको अभाव हुँदा काम गर्न नसकेकको गुनासो गरे ।

‘गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ता अधिकार : हामी सबैको सरोकार’ भन्ने नाराकासाथ विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया