जथाभावी हर्न बजाउने ३४ हजार सवारी–साधन कारबाहीमा

news

काठमाडौं, चैत १ । ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारी–साधनलाई कारबाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले वि.सं. २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारी–साधनलाई कारबाही गरेको हो ।

महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेर उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि वि.सं. २०७४ वैशाख १ देखि हर्न निषेध गरेको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीमाबाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको बताए ।

‘उपत्यकामा धेरै सवारी–साधनसँगै हर्न बजाउने सवारी–साधनको संख्या बढेको छ । त्यसैले महाशाखाले जथाभावी हर्न बजाउने सवारी–साधनलाई कडाइ गरेको छ’–उनले भने ।

ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वास–प्रश्वास प्रणालीमा असर हुने, स्मरणशक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने गरेपछि सरकारले हर्नमा प्रतिबन्ध लगाएको हो ।

यस्तै, ट्राफिक प्रहरीले ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदन्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारी–साधनलाई आयातमा नै रोक लगाउन वातावरण विभागलाई सिफारिससमेत गरेको छ ।

महाशाखाले ध्वनि प्रदूषण गरेवापत एउटा सवारी–साधनबाट रु ५०० कारबाहीस्वरुप लिँदै आएको छ ।

यातायात व्यवस्था विभागकाअनुसार हाल देशभर ३२ लाख सवारी–साधन सन्चालनमा रहेका छन् भने काठमाडौं उपत्यकामामात्र ८ लाख सवारी–साधन सन्चालनमा रहेका छन् । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...